काठमाडौं – नागरिकता विधेयकका कारण राष्ट्रपति विद्यादेवी भण्डारी नैतिक संकटमा परेकी छन् ।प्रतिनिधिसभा र राष्ट्रिय सभाले बहुमतले पारित गरेको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी सन्देशसहित संसद्मै फिर्ता पठाएकी थिइन् ।
तर, राष्ट्रपतिले फिर्ता पठाएको विधेयक गठबन्धन सरकारले एक अक्षर पनि थपघट नगरी जस्ताको तस्तै प्रतिनिधिसभाबाट पारित गरेका छन् । भदौ १२ गते बस्ने राष्ट्रिय सभाबाट पनि सो विधेयक पारित गर्ने र प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउने तयारी छ । संसद्ले नागरिकता विधेयक जस्ताको तस्तै पारित गरी प्रमाणीकरण गर्न शीतल निवास पठाउने भएपछि राष्ट्रपति भण्डारी चरम संकटमा परेकी हुन् । अब उनी विधेयक प्रमाणीकरण गर्ने कि राजीनामा दिएर शीतल निवासबाट बाहिरिने भन्ने द्विविधामा परेकी छन् ।
यतिबेला उनी केही दरबारिया कानुन व्यवसायी र कथित नागरिक समाजका अगुवासँग विधेयकबारे परामर्शमा जुटेकी छन् । खासगरी अहिले राष्ट्रपति भण्डारीलाई केही मण्डले र एमालेका नेताले उचालिरहेका छन् । जसकारण उनी राजीनामा दिने मनस्थितिमा रहेको भनेर समाचार बाहिर ल्याइएको छ । नागरिकता विधेयकमा दोहोरो चरित्र देखाएकाले आगामी निर्वाचनमा मधेस प्रदेशमा एमाले बढारिने निश्चित छ ।
राष्ट्रपतिले राजीनामा दिएर बाहिरिने संकेत दिएपछि सम्भावित दुर्घटना हुन नदिन एमाले अध्यक्ष केपी ओली सक्रिय भएका छन् । ओली बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् ।
ओलीले प्रधानमन्त्री देउवासँग आगामी निर्वाचनसम्म नागरिकता विधेयक अघि नबढाउन र हाललाई स्थगन गर्न प्रस्ताव गरेको स्रोतले बतायो ।
एमालेकै आग्रहका कारण सभामुखले एक साताका लागि प्रतिनिधिसभा बैठक पर सारेका छन् । प्रधानमन्त्री देउवाले भने यस विषयमा गठबन्धन दलका नेताहरूसँग छलफल गर्ने जवाफ दिएको बुझिएको छ । – मिडिया डबली