गुल्मीका जुम्ल्याहा दाजुभाईले बनाए मान्छे नभएपनि चिया बेच्ने मेसिन

गुल्मी: गुल्मीका १८ वर्षीय जुम्ल्याहा दाजुभाई लव पन्थी र कुश पन्थीले स्क्यान गरेर पैसा तिरेपछि चिया दिने भेन्डिङ मेसिन बनाएका छन् । लवकुशले बनाएको उक्त मेसिनको नाम ‘टि स्क्यान’ राखिएको छ ।

पैसा लिन र चिया दिन टी स्क्यानलाई मान्छेको कुनै पनि सहायता जरुरी पर्दैन । टी स्क्यानको माथिल्लोपट्टि क्युआर कोड राखिएको छ । ग्राहकले पहिले कप थापेर स्क्यान गरी पैसा तिरेपछि कपमा चिया भरिन्छ ।

विषेशगरी व्यक्तिहरुले थरमसमा राखेर चिया बेच्न हिँडिरहेको देखेपछि मेसिन बनाउन प्रेरित भएको उनीहरुको भनाई छ । ‘काठमाडौँमा बस्ने क्रममा बसपार्क, एयरपोर्ट तथा अन्य मेलाहरुमा थरमसमा राखेर चिया बेच्ने गरेको देखेका थियौं ।’ उनीहरुले भने, ‘त्यसपछि मेसिन बनाउने सोच आएको हो ।’

मेसिनमा १ पटकमा पाँच लिटरसम्म चिया राख्न सकिन्छ । एकपटक मेसिनमा पानी, दूध, चिनी, चियापत्ति राखेपछि सबै काम मेसिनले आफै चिया बनाउँछ । ‘पैसा संकलन गर्छ र स्क्यान गरेपछि चिया पनि रिलिज गरिदिन्छ,’ लव पन्थीले भने । एक पटक पाकेको चिया कम्तीमा सात घण्टासम्म सोही तापक्रममा रहने उनीहरुको दाबी छ । चिया बेच्ने मेसिनले बजार पाउने उनीहरुको अपेक्षा छ ।

उनीहरुले नेपालकै पहिलो नेपाली भाषा बोल्ने रोबोट, को रोनाको समयमा आइसोलेशन वार्डमा प्रयोग गर्न सकिने नर्स रोबोट बनाएका थिए । यसबाट उनीहरु पुरस्कृत समेत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय