माधव विरुद्ध प्रचण्डलाई ओलीको प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहकार्यको प्रस्ताव राखेका छन् ।

आफ्नो सरकारी निवास बालुवाटारमा बुधबार बिहान भएको भेटवार्तामा ओलीले दुई अध्यक्ष बीच मिल्दा पार्टीमा देखिएको संकट हल हुने बताएका हुन् । स्रोतका अनुसार, ओलीले प्रचण्डसँग मिलेर जान आफू तयार रहेको बताएका थिए । तर, बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरुसँग बनाइएको गठबन्धन तोड्नुपर्ने उनको शर्त छ । ‘तपाईं माधव नेपालको पछि लाग्दै हुनुहुन्छ । तपाईंले माधव नेपाललाई चिन्नु भएकै छैन । हामी मिलौं’, ओलीको प्रस्ताव थियो ।

तत्कालीन एमालेको राजनीतिक घटनाक्रमबारे लामो व्याख्या गर्दै ओलीले ‘माधव नेपाल कति धोकेबाज हुन् भन्ने चिन्नु भएकै छैन । पछि थाहा पाउनुहोला’ भनेका थिए । जवाफमा प्रचण्डले भने दुई अध्यक्षबीच नभई पार्टी कमिटीबाटै निर्णय लिनुपर्ने बताएका छन् ।

‘माधव कमरेडलाई म राम्ररी चिन्छु । तपाईं जेलमा भएको बेला पनि मैले उहाँसँग सहकार्य गरेको छु’ प्रचण्डको भनाइ थियो, ‘३५ वर्ष अघि पनि हामीले पञ्चायतविरुद्ध आन्दोलनको कार्यक्रम बनाएका छौं । सँगसँगै लडेका छौं ।’

विद्यार्थी, शिक्षक र मजदुरको आन्दोलनको कार्यक्रम माधव नेपालसँगै मिलेर बनाएको प्रचण्डले संस्मरण गरेका थिए । प्रचण्डले जनयुद्ध कालदेखि शान्ति प्रक्रियासम्म एमालेको प्रमुख नेताका रुपमा संगत गरेको ओलीलाई बताएका थिए ।

पूर्वएमाले मिल्ने भन्दै माधव नेपाललाई अध्यक्ष र प्रधानमन्त्रीकै प्रस्ताव गर्दा पनि नमानेको प्रशंग ल्याउँदै प्रचण्डले ओलीलाई उल्टै सम्झाउने प्रयास गरेको स्रोतले जनायो । तर अध्यक्ष ओलीले भने ‘अझै सोच्नूस्’ भनेका छन् ।

मंसिर २१ मा स्थायी कमिटी बैठक भेटेपछि ओली र प्रचण्डबीच बुधबार भेटवार्ता भएको हो । त्यसअघि २५ दिनको संवादहीनता तोड्दै स्थायी कमिटी बैठक बस्नु अघिल्लो दिन मात्रै ओली र प्रचण्ड बीच छोटो समय भेटवार्ता भएको थियो । तर बुधबारको भेटवार्ता भने त्यस दिनको भन्दा लामो चल्यो ।

प्रधानमन्त्री एपं अध्यक्ष ओलीलाई भेट्नजानु अघि प्रचण्डले नेताहरुसँग परामर्श गरेका थिए । स्थायी कमिटी बैठक एक हप्तालाई स्थगित भएपछि ओलीले आफू निकट नेताहरुमार्फत् विशेषगरी प्रचण्डसँग संवाद र सहमतिको प्रयास गरिरहेका छन् ।

नेता नेपालसँग भने कुराकानी भएको छैन । गएको हप्ता नेपाललाई फकाउन ओली निकट नेताहरु कोटेश्वर पुगेका थिए । महासचिव विष्णुप्रसाद पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले नेता नेपाललाई भेटेर ओलीसँग सहमति गर्न आग्रह गरेका थिए ।

ओली समूहले पूर्वएमालेले मार्गदर्शक सिद्धान्त मानेको जनताको बहुदलीय जनवाद (जबजं) कार्ड समेत खेलेको थियो । सवै प्रयास सम्भव नभएपछि ओली फेरि प्रचण्डसँगै मिल्ने रणनीतिमा पुगेका छन् । पार्टी एकीकरणदेखि प्रचण्डसँग सहमति गरेर पार्टी र सरकार चलाएका ओली अहिले पनि एक्लिन पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय