स्थानीय पाठ्यक्रम बनाउँदै मुसिकोट नगरपालिका

सागर भण्डारी.गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले छुट्टै स्थानीय पाठ्यक्रम निर्माणका गर्ने भएको छ । नगरको शिक्षा शाखाका अनुसार शैक्षिक सत्र २०७९ मा नगरभित्र रहेका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू गर्ने गरी निर्माणको तयारी थालिएको हो ।

 नयाँ शैक्षिक सत्रबाट कक्षा एकदेखि पाँचसम्म स्थानीय पाठ्यक्रममा पढाइ शुरु गर्न स्थानीय आवश्यकता, विषयवस्तु, स्थानीय विज्ञको सुझाव र सहयोगमा तयारी शुरु भएको शिक्षा अधिकृत प्रकाश नेपालीले जानकारी दिए । पाठ्यक्रम निर्माणका लागि शिक्षा अधिकृत नेपालीको संयोजकत्वमा ९ सदस्यीय कार्यदलसमेत गठन गरिएको थियो ।

 विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक र समाजसेवी सदस्य रहेको कार्यदलले नगरभित्र रहेका विभिन्न सरोकारवाला व्यक्तिहरुको सुझाव समेटेर मस्यौदा तयार तयार गरिसकेको छ । मुसिकोट नगरपालिकाको विशिष्टता, वस्तुस्थिति, भौगोलिक, जैविक, सांस्कृतिक विविधताको बारेमा जानकारी गराउने र स्थानीय भावनाको विकास गराउन पाठ्यक्रम निर्माण गर्न लागिएको प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले बताए ।

 उनका अनुसार यस क्षेत्रको भुगोल, धार्मिक सांस्कृतिक तथा ऐतिहासिक चिनारी, जनसंख्या वातावरण र जनजीवन, स्थानीय तह र सेवा प्रवाह, आर्थिक गतिबिधि, कृषि, कफी हाम्रो पहिचान, सामाजिक समस्या, मेरो भविष्यको पेसा र नागरिक सचेतना लगायतका विषयवस्तुहरु पाठ्क्रममा समेटिने छ ।

 कार्यदलका सदस्यसचिव टिका घर्तीका अनुसार कार्यदलले विभिन्न सरोकारवालाहरुबाट सुझाव सकंलन गरेर आफ्नो प्रतिवेदन अन्तिम चरणमा पु¥याएको छ । छिट्टै नै नगर शिक्षा समितिमा पेश गर्ने र नगर कार्यपालिकाको बैठकले अनुमोदन गरेपछि पाठ्यक्रम लागू गरिने उनले बताए ।

 १०० पूर्णाङ्कको पाठ्यक्रमकोे नाम ‘हाम्रो मुसिकोट’ प्रस्ताव गरिएको छ । जसमध्ये प्रयोगात्मक र लिखित तथा कक्षा अवलोकन र कक्षा कार्यलाईसमेत मूल्याङ्कनको आधार मानिएको घर्तीले बताए । पाठ्यक्रमको १–३ सम्म ५ पाठ्यघण्टा र कक्षा ३–५ सम्म ४ पाठ्यघण्टा रहेको छ ।

 नगरभित्रका ७१ सामुदायिक विद्यालय र ७ संस्थागत विद्यालयमा पाठ्यक्रम लागू हुने नगरपालिकाले जनाएको छ । संस्थागत विद्यालयहरुलाई भने अनिवार्य गरिएको छैन । नगरप्रमुख जीवन खरेलले सबै नगरवासीको भावना समेटिने गरी पाठ्यक्रम निर्माण गरिने बताएका छन् । पाठ्यक्रम निर्माणका क्रममा सबै क्षेत्रको सुझाव समेटिने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय