गठबन्धन बैठकः देशभरका ‘बागी’ उम्मेदवारी फिर्ता गराउने निर्णय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले देशभरका ६ महानगर र ११ उपमहानगपालिमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । पाँच दलका शीर्ष नेताहरू सहभागी बैठकले विभिन्न ७ बुँदे निर्णय गरेको छ । जसमा ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको आजै बैठक राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरूबीच सिटको बाँडफाँट गर्ने भनिएको छ ।

यस्तै नगरपालिका र गाउँपालिकाहरूमा गठबन्धनका दलहरुबीच भइसकेको सिट बाँडफाँट समझदारीविपरीत गठबन्धनभित्रका दलहरूबाट दर्ता भएका उम्मेदवारी फिर्ता गर्ने पनि निर्णय भएको छ । यसका लागि सम्बन्धित दलले आवश्यक कार्य गर्ने छन् ।

गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरूमा आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने पनि पाँच नेताहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिने भनिएको छ ।

यस्तै, गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय चुनावका लागि भएको मनोनयन फिर्ता लिने अघिल्लो दिन गठबन्धनको बैठक बसेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय