चुनावी तालमेल गर्नुपर्छ भनेर हिँडेका माधव नेपाल र पौडेलकै जिल्लामा गठबन्धन छियाछिया

काठमाडौं – पाँचदलीय गठबन्धनका सूत्राधार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको अहिले बोल्ती नै बन्द छ ।

स्थानीय तहको मात्र होइन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन गरेर जानुपर्छ भन्ने नेपाल र पौडेललाई अहिले नै झड्का लागेको छ । नेपालको गृहजिल्ला रौतहटमा गठबन्धन नै भएन । सबैले आ–आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।

जसले गर्दा नेपालले सोचे जस्तो नतिजा चुनावमा नआउने देखिएको छ । नेपाल आफ्नो गृहजिल्लामा त्यसै पनि कमजोर छन् । मधेसवादी दलका केही जनप्रतिनिधि आफ्नो पार्टीमा प्रवेश गराउनुबाहेक उनले त्यस्तो कुनै चमत्कार गरेका छैनन् । कांग्रेस नेता पौडेलको गृहजिल्लामा पनि त्यस्तै हालत छ । तनहुँमा पाँचदलीय गठबन्धन रहेन ।

अघिल्लो निर्वाचनको तुलनामा कांग्रेसको संगठन त्यसै पनि अहिले बिग्रेको छ । कांग्रेसका पुराना नेता गोविन्दराज जोशी समूहले एमालेसँग तालमेल गरेकाले पनि पौडेल कमजोर बनेका छन् ।

उनले व्यास नगरपालिका प्रमुखमा बैकुष्ठप्रसाद न्यौपानेलाई जिताउनु नै ठूलो उपलब्धि मानिने कांग्रेस नेता कार्यकर्ता बताउँछन् । उता कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा पनि त्यस्तै किचलो छ ।

कांग्रेसको १४औं महाधिवेशनमा देखिएको असन्तुष्टि अहिलेसम्म झन् झन् फैलिँदै गएको छ । कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्लले पार्टी नै त्यागेका छन् । उनको समूह सबै कांग्रेस (बिपी) मा समाहित भएको छ ।

मल्ल समूहले डडेल्धुरामा एमालेसँग तालमेल गरेको छ । डडेल्धुरामा एमाले तेस्रो शक्ति हो । कांग्रेस पहिलो र माओवादी दोस्रो शक्तिबीच तालमेल भएकाले देउवालाई थोरै भए पनि राहत भएको छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय