चितवनका ३ पालिका प्रमुखले दिए दोस्रो पटक उम्मेदवारी

वैशाख, चितवन । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चितवनका ७ पालिकामध्‍ये ३ पालिका प्रमुखले दोस्रो पटक टिकट पाएका छन् ।

दोहोरिएर उम्मेदवार बन्‍नेमा भरतपुर महानगरपालिकाकी मेयर बनेकी रेनु दाहाल, खैरहनी नगरपालिका मेयर लालमणि चौधरी र इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरूङ छन् ।तीनै जनाले प्रमुख पदमा दोस्रो कार्याकालका लागि सोमबार मनोनयन दर्ता गराए । माडी, राप्ती, रत्ननगर र कालिकामा नगरपालिकामा भने नयाँ उम्मेदवारहरुले मेयरमा उम्मेदवारी दिएका छन् ।

भरतपुरमा नेकपा माओवादी केन्द्रबाट मेयर रेनु दाहालले र एमालेतर्फबाट खैरहनी नगरपालिकाको मेयरमा लालमणि चौधरीले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरूङले नेपली कांग्रेसबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।

२०७४ सालको निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनतर्फबाट महानगरको मेयरमा रेनु दाहालले ४३ हजार १२७ मत ल्याएर जित्दा एमालेका एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए ।

यस्तै खैरहनीका मेयर बनेका चौधरीले १० हजार ७१७ मत ल्याएर जितेका थिए । यहाँ कांग्रेसबाट मेयर उम्मेदवार रहेका राजेन्द्रप्रसाद चौधरीले ९ हजार ७३३ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए । इच्छाकामना गाउँपालिकामा गीता गुरूङ्गले ३ हजार २५४ मत ल्याएर जित्दा एमाले उम्मेदवार नारायणप्रसाद अधिकारी ३ हजार ६१ मत ल्याएका थिए ।

एमालेबाट जितेका कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ गोपीले मेयरमा दोहोरिने चाहा्ना राखेको भए पनि टिकट पाएनन् । एमालेबाट जितेका रत्ननगरका मेयर नारायण बन र राप्ती नगरपालिका मेयर प्रभा बरालले मेयरमा आकांक्षा व्यक्त गरेनन् । माडी नगरपालिकामा माओवादी केन्द्रबाट जितेका ठाकुर ढकालले मेयरको चाहना राखे पनि टिकट पाएनन् ।

दुई उपमेयरले पाए मेयरका टिकट – पूर्वी चितवनको रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले एमालेको तर्फबाट मेयरमा टिकट पाएर उम्मेदवारी दर्ता गराएकी छिन् । यस्तै, एमालेबाट नै जितेकी माडी नगरपालिका उपप्रमुख ताराकाजी महतोले एमालेबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरी र राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामाले मेयरमा तथा इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले अध्यक्षमा चाहना राखे पनि टिकट पाएनन् । खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाले मेयरमा नउठ्ने बताएकी थिइन् ।

मेयर हारेका दुईजना उपमेयर उम्मेदवार – चितवनको माडी नगरपालिकामा गएको स्थानीय तह निर्वाचनमा मेयरमा उम्मेदवार बनेर पराजित बनेका दुई जनाले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

कांग्रेसबाट मेयरको उम्मेदवार बनेर पराजित भएका खेम महतोले उपमेयरमा उम्मेदवारी दिएका छन् । महतो गएको निर्वाचनमा मेयरमा निर्वाचित ठाकुर ढकालको निकटतम प्रतिद्वन्द्वी रहेका थिए । यस्तै, राप्रपाबाट गएको चुनावमा मेयर उठेर पराजित बनेका मदन पौडेलले यसपटक एमालेसँग गठवन्धन गरेर उपमेयरमा उम्मेदवारी दिएका छन् ।

विप्लव समूहको पनि मेयरमा उम्मेदवारी – भरतपुर महानगरकाको मेयरमा नेकपा विप्लव माओवादी नेता दुर्गाप्रसाद शर्माले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । उनी विप्लव समूहका भरतपुर महानगर इन्चार्ज हुन् । यसअघि एकपटक पक्राउ परेर विप्लव माओवादी छाडेको भनेर कागज गरेपछि छुटेका सुवेदी अहिले फेरि सोही पार्टीमा आवद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय