मालिकामा उत्साहजनक सहभागितासहित गठबन्धनका उमेदवारहरुको मनोनयन दर्ता

गुल्मी, ११ बैशाख
गुल्मीको मालिका गाउँपालिकामा उत्साहजनक उपस्थितिका बीच सत्तारुढ गठबन्धनका साझा उमेदवारहरुको मनोनयन दर्ता भएको छ । आइतबार गाउँपालिकाको केन्द्र अर्खबाङ्गमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा निकै उत्साहजनक उपस्थितिका बीच सत्तारुढ गठबन्धनका साझा उमेदवारहरुको मनोनयन दर्ता भएको हो ।

गाउँपालिकाको अध्यक्षमा गठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रका गाउँकमिटी अध्यक्ष देबिराम अर्यालले उत्साहजनक जनसहभागिताका कारण आफुहरुमा निरन्तर हौसला बढेको बताए । आफुहरु गठबन्धनबाट साझा उमेदवार बनेर घरदैलो कार्यक्रममा जाँदा पनि गठबन्धनका पार्टीमा प्रबेश गर्नेहरुको लहरका कारण आफुहरुले बहुमतका साथ जित्ने अध्यक्षका उमेदवार अर्यालको दाबी छ । मनोनय दर्ता पछि अर्यालले आफुहरुको जित सुनिश्चित भएको बताए ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट साझा उमेदवार बनेका नेपाली काँग्रेस मालिका गाउँकार्यसमितिका सभापति उपेन्द्र अर्यालले गाउँपालिकामा आजसम्म भइरहेका अनियमितता र भ्रष्टाचार बिरुद्ध आफुहरुको गठबन्धन भएको भन्दै सजिलै जित हासिल गर्ने बताए । उत्साहजनक जनसहभागिता नै साझा गठबन्धनको जित्ने बलियो आधार भएको अर्यालले बताए ।

गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ८ वटा वडाध्यक्षसहित सबै उमेदवारहरुको मनोनयन दर्ता भएको वडा नम्बर ५ छापहिलेमा गठबन्धनबाट वडाध्यक्षका साझा उमेदवार रेखा कुमर जिसीले बताए । आफुहरुले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सबै वडा जित्ने उनको दाबी छ । उनले गाउँपालिकाको विकासका लागि साझा गठबन्धनका उमेदवारलाई बिजयी गराउन पनि मालिकाबासीसँग आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय