नेपालगञ्जमा मेयर नपाएपछि जसपाले जिल्लाभर नै गठबन्धन नगर्ने

रुपन्देही । बाँकेको नेपालगन्ज उपमहानगरपालिका भागवण्डामा नेपाली कांग्रेसलाई परेपछि यहाँको मुख्य दाबेदार गरेको जसपाले नस्वीकार्ने जनाएको छ । गठबन्धनको अन्तिम बैठकसम्म नेपालगन्ज पाउनुपर्ने दाबी गरिरहेको जसपाका केन्द्रीय नेताले उपमेयरमा सीमित राखेर मेयरमा नेपाली कांग्रेसलाई सहमति जनाएपछि स्थानीय नेताहरु आक्रोशित बनेका छन् ।

बाँके जिल्ला कमिटीले निर्णय हुनुअगावै गठबन्धनसँगै जान नसकिने निर्णयलाई निरन्तरता दिने जनाएको छ ।जसपाका केन्द्रीय नेता मोहम्मद इस्तियाक राईले जनभावनाविपरीत केन्द्रमा बसेर गरिने निर्णय कार्यान्यवनमा समस्या आउने बताए । नेपाल प्रेससँग कुरा गर्दै राईले स्थानीय पार्टीको तयारी विपरीत आएको गठबन्धनको सहमतिलाई यहाँको पार्टी कमिटीले पहिले नै असहमति जनाइसकेको बताए ।

‘सहमति केन्द्रबाट आयो, कार्यकर्ताको हात समातेर भोट हालिदिन सकिँदैन, जनभावना विपरीतका सहमति कसरी कार्यान्वयनमा जानसक्छ, यहाँको पार्टी कमिटीले पहिले असहमति जनाएको छ अब यहाँको कार्यकर्ताले जे निर्णय गर्छन् मेरो निर्णय त्यही हुन्छ’, उनले भने, ‘कार्यकर्तामा आक्रोश छ, कुनै हालतमा नमान्ने भन्ने निष्कर्ष छ, अब केन्द्रका नेताले गरेका निर्णयमा तपाईको कुरा के छ भनेर आज फेरी कुरा गर्छु अनि मात्र अन्य कदम चालिन्छ, अहिलेसम्म स्वीकार्ने अवस्था छैन ।’

बाँकेको नेपालगन्ज उपमहानगरपालिका जसपालाई दिन नेपाली कांग्रेस तयार नभएपछि असन्तुष्ट बनेको जसपा जिल्लाभर नै गठबन्धन गर्न तयार नभएको हो । दक्षिणपूर्वी बाँकेमा बलियो मानिएको जसपाले गठबन्धनका सुरुका दिनमै नेपालगन्जसहित कम्तिमा चार पालिकामा दावी गरिरहेको थियो । जसपा जिल्ला अध्यक्ष कमरुद्दिन राई नेपालगन्जको प्रमुखमै उम्मेदवार भएर भोट मागिसकेको अवस्थामा नेपाली कांग्रेसलाई मेयर तथा जसपालाई उपमेयर भागवण्डा परेपछि समस्या भएको हो । उनले नेपालगन्ज, डुडुवा, नरेरापुर, जानकीमा उम्मेदार तयार गरिसकेको र अन्त पनि तयारी भइरहेको र एकल चुनाव लड्ने नेपाल प्रेसलाई बताए ।

नेपालगन्जमा जसपाले सहमति कार्यान्वयन नगरे गठबन्धनमा अल्झिएर नबस्ने नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताए । उनी गठबन्धन संयन्त्रका संयोजक रहेका छन् । कांग्रेसले केन्द्रले पठाएको परिपत्रअनुसार भागबण्डामा कुरा नमिलेपछि आवश्यकता र अवस्था अनुसार स्थानीय तहमै मिल्नसक्ने गरी वडा वा पालिकास्तरमा जानुपर्ने सुझाव केन्दमा पठाएको छ । उपमहानगरमा केन्दले गरेको सहमतिमै विवाद भएपछि अन्य पालिकामा पनि उस्तै विवाद रहेको छ ।

जसपाले सशर्त गठबन्धनमा जाने भनेपछि कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी एकीकृतलगायतका दल निरन्तर छलफलमा थिए । काँग्रेस–जसपाले नेपालगन्ज नछाड्ने, काँग्रेस–माओवादी कोहलपुरलाई नछाड्ने अडानले बाँकेमा गठबन्धनको समस्या भएको हो । माओवादी र नेकपा एसलाई बलियो बनाउन काँग्रेस आफ्नो घर भत्काउन नहुने कांग्रेसका अधिकांश नेताहरुको सुझाव आएको छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक डम्बर बिक तुफानले भने गठबन्धन हुनेमा ढुक्क रहेका छन् । नेकपा एसका केन्द्रीय सदस्य अशोक कोइरालाले पनि गठबन्धन टुट्नै नहुने बताए ।

यसअघि बाँकेमा चार पालिकामा एमालेले जितेको छ भने दुई वटा गाउँपालिकामा कांग्रेस, नेपालगन्जमा राप्रपाले प्रमुख जितेको हो । जसपामा रहेको तत्कालिन फोरमले नरैनापुर जितेको थियो । मापदण्डमै जाउँ भन्दापनि माओवादी र जसपाले नमानेको काँग्रेस नेताको भनाइ छ । कांग्रेसले नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी र डुडुवा कुनै हालतमा नछाड्ने बताएपछि अरु पार्टी सशंकित बनेका हुन् ।

जिल्लामा गठबन्धनमा खटपट भएपछि एमाले नेताहरु आफ्नो रणनीतिमा लागेका छन् । नेपालगन्जमा केही समयअघि एमाले प्रवेश गरेका पशुपतिदयाल मिश्रलाई सर्वसम्मत मेयरमा प्रस्ताव गरेपछि यहाँको माहोल तातेको छ । एमालेले बिगतमा आफूले जितेका पालिकालाई कायम राख्दै जसरी पनि नेपालगन्जमा विजयी हुनेगरी योजना बनाएको छ । राप्रपाका नेता धवलशमशेर राणा नदोहोरिने, मिश्रसहितको ठूलो समूह एमालेमा आएको, नेकपा एसको प्रभाव धेरै कम रहेको र गठबन्धनमा बढेको खटपटका कारण मिश्रले नेपालगन्जमा जित्ने आधार बलियो भएको एमाले निकट नेताहरुको बुझाइ छ ।

जिल्लामा एमालेको अवस्था बिगतको भन्दा धेरै राम्रो बनेको र स्थानीय चुनावमा धेरै स्थानमा जित्ने जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय