एमालेलाई हराएर काँग्रेसलाई ठूलो पार्टी बनाउन माओवादी बाध्य छैन : मन्त्री आङ्बो

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले स्थानीय निर्वाचनमा काँग्रेसलाई जिताएर एमालेलाई हराउन माओवादी बाध्य नभएको बताएका छन् । सङ्खुवासभा जिल्लाबाट काँग्रेस र माओवादीले औपचारिक रूपमा गठबन्धन नरहेको घोषणा गरेसँगै नेता आङ्बोले सामाजिक सञ्जालमार्फत आफूहरूको सिद्धान्त काँग्रेसलाई जिताउनै पर्छ भन्ने नरहेको बताएका हुन् ।

एउटालाई हराएर अर्कालाई जिताउने ठेक्का माओवादीको होइन, लोकतन्त्र, व्यवस्था र संविधान रक्षार्थ जिम्मेवारपूर्ण सहकार्यको अपेक्षा मात्र हो, सहमतिको नाममा विलम्ब घातक मात्र हुन्छ, अब मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि अविलम्ब अगाडि बढौँ,’ आङ्बोले भनेका छन्, ‘शीर्ष नेताहरूलाई आग्रह छ आवश्यकता र औचित्यको आधारमा स्थानीय स्तरमा नै तालमेलको अधिकार स्वैच्छिक र खुल्ला गरिदिऊँ ।’

गठबन्धनको बैठकमा होस् वा अनौपचारिक छलफलमा या सार्वजनिक सभाहरूमा काँग्रेसले माओवादीको धेरै अपमान गरिरहेको महसुस गरेर आफूले यसखालको टिप्पणी गरेको उनको भनाइ छ । ‘सबैभन्दा धेरै गठबन्धन काँग्रेसलाई नै चाहिएको छ र भए जति सबै सिट पनि काँग्रेसलाई नै चाहिने भएको छ । यो तादम्यता नै मिलेन नि,’ उनले भने, ‘यो एउटा चुनौतीपूर्ण देखिन्छ । अर्को काँग्रेसभित्रको गुट व्यवस्थापन पनि चुनौतीपूर्ण देखिन्छ । एमालेलाई हराउने ठेक्का माओवादीको जिम्मा होइन । एमालेलाई हराएर काँग्रेसलाई ठूलो पार्टी किन बनाउनु पर्‍यो ? संविधान मिचियो, गणतन्त्र खतरामा पर्‍यो, व्यवस्थामा संकट आयो भनेर पो गठबन्धन गरेको त ।’

उनले माओवादीले पहिले जितेका स्थानलाई सुरक्षित गर्दै त्यति नै मात्रामा अहिले थप विजयी हुने दाबी पनि गरे । ‘हामी कमजोर अवस्थामा हुँदा पनि ०७४ सालमा हामीले सय बढी स्थानीय तह जितेका थियौँ । अहिले हामीसँग सरकार छ । संगठन बलियो बनाएका छौँ, जनताका धेरै काम गरेका छौँ । अब हामीले अरू १ सय जति बढाउँदा त्यसै पनि हाम्रो सम्मानजनक अवस्था बनिहाल्छ नि काँग्रेससँगै गठबन्धन किन गर्नुपर्‍यो र ? त्यसकारण स्थानीय स्तरमा स्वतन्त्र हिसाबले गठबन्धन गर्ने गरी अगाडि बढौँ ।’

त्यस्तो परिस्थितिमा आवश्यकता हेरेर गठबन्धन हुने उनको भनाइ छ । ‘त्यसो गर्दा काहिँ एमालेसँग गठबन्धन हुन्छ, काहिँ काँग्रेससँग गठबन्धन हुन्छ । काँग्रेसलाई ठूलो बनाउनु पर्ने र एमालेलाई हराउनुपर्छ भन्ने हाम्रो पार्टीको सिद्धान्त पनि होइन, उद्देश्य पनि होइन र नीति पनि त्यो होइन । हामी स्थानीय तहको निर्वाचनको हकमा तालमेल गर्ने विषय काँग्रेसले भनेजस्तै आवश्यकता र औचित्यको आधारमा तल्लो तहलाई नै छोडिदिऔँ,’ आङ्बोले भने, ‘त्यसो गर्दा काहिँ वामलोकतान्त्रिक गठबन्धन होला, काहिँ वामपन्थी गठबन्धन होला । गठबन्धनको विषयमा काँग्रेसले जसरी आफूलाई मसिहा ठानिरहेको छ यो कुरालाई स्वीकार गर्न सकिँदैन ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय