सर्वोच्चमा कामु प्रधानन्यायाधीश आतंक, मुख्य रजिष्ट्रारलाई एक महिना बिदा बस्न दबाब

काठमाडौं । कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई एक महिना बिदामा बस्न दबाब दिएका छन् ।

उच्च अदालत पाटनको न्यायाधीश बनाएर अपमानपूर्वक धपाउन खोज्दा कुँवरले न्यायाधीशको जिम्मेवारी अस्वीकार गरेपछि कार्कीले निरन्तर मानसिक यातना दिइरहेको सर्वोच्च प्रशासनका कर्मचारीहरुले बताएका छन् ।

न्यायपरिषद् बैठकबाट उनलाई न्यायाधीश नियुक्त गर्नुअघि कार्की र अर्की न्यायाधीश मीरामैयाँ खड्काले राजीनामा गर्न दबाब दिएका थिए । उनीहरुले रिजिष्ट्रार नारायण पन्थीलाई पनि राजीनामा गर्न दबाब दिएको बताइएको छ ।

दुवैले राजीनामा नदिएपछि मुख्य रजिष्ट्रार कार्कीसँग प्रतिशोधपूर्ण व्यवहार गर्दै न्यायाधीश नियुक्तिको सिफारिस गरियो । मुख्य रजिष्ट्रार उच्च अदालतको मुख्य न्यायाधीश सरहको पद भएको र यसअघि दुईजनाले सोही पद लिइसकेकोले कुँवरले अपमानपूर्ण निर्णय मानेनन् ।

उनी मुख्य रजिष्ट्रारकै भूमिकामा रहँदा अदालत प्रशासनमा आफूहरुले चाहेजस्तो गर्न अवरोध भएपछि कार्की र खड्काले उनलाई निरन्तर दबाब दिइरहेको स्रोतले जनाएको छ ।

कामु प्रधानन्यायाधीश कार्कीले यसबीचमा कुँवरलाई ७२ घण्टाभित्र उच्च अदालत पाटनमा हाजिर हुन लिखित निर्देशन दिए पनि कुँवरले गैरकानूनी निर्देशन नमानेपछि उनलाई शुक्रबार बोलाएर एक महिना बिदामा बस्न दबाब दिइएको न्यायाधीशहरुबीच चर्चा चलेको छ ।

कुँवरमाथिको व्यवहारबारे हिजो चोलेन्द्र शमसेर जबराविरुद्धको हड्तालमा साथ दिएका न्यायाधीशहरु हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडाले भेटेरै त्यसो नगर्न आग्रह गर्दा पनि कामु प्रधानन्यायाधीश कार्कीले आफू धेरै अघि बढिसकेको जवाफ दिएपछि अवाक भएर फर्किएको चर्चा अदालतमा छ ।

हिजो चोलेन्द्रविरुद्धको आन्दोलनमा कार्कीलाई साथ दिएका न्यायाधीशहरु नै कामु प्रधानन्यायाधीशको व्यवहारबाट असन्तुष्ट छन् । हड्ताल र महाअभियोग दिपक कार्की तथा मीरामैयाँ खड्काको व्यक्तिगत स्वार्थपूर्तिको भर्याङमात्र बनेको भन्दै न्यायाधीशहरु असन्तुष्ट बनेका हुन् ।

सर्वोच्च प्रशासनमा प्रधानन्यायाधीशको गैरकानूनी हस्तक्षेपविरुद्ध कर्मचारी युनियनले आन्दोलनको बारे छलफल थालेको छ । – नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय