आसन्न स्थानिय तहको निर्वाचनमा प्रचण्ड र माधव नेपालसँग गठबन्धन गर्ने गरि काग्रेस सभापती शेरबहादुर देउवाले तयारी गरे पछि काग्रेस भित्रको शेखर कोइराला पक्षले गठवन्धन अस्विकार गर्ने गरि अभियान सुरु गरेको छ ।
काग्रेसको १४ औँ महाधिवेशमा ४० प्रतिशत भन्दा बढि मत होल्ड गरेको शेखर कोइराला पक्ष कुनै पनि हालतमा कम्युनिष्टसँग गठबन्धन गर्न नहुने पक्षमा एकमत रहेको छ । कोइराला पक्षले देशभरनै गठबन्धनको विपक्षमा अभियान चलाउँन थालेको छ ।
यसै विच सुर्खेत जिल्लामा पनि काग्रेसको शेखर कोइराला पक्षले छुट्टै भेला गरि चुनावमा गठबन्धन गर्न नहुने निष्कर्ष निकालेको छ । काग्रेस एक्लै निर्वाचन जित्न सक्षम रहेको भन्दै कोइराला पक्षले गठन्धनको निर्णय नगर्न केन्द्रलाई दबाव दिने निर्णय गरेको छ ।
स्थानीय चुनाव र गठबन्धनको विषयमा नेपाली कांग्रेस सुर्खेतमा किचलो बढेको छ । नेपाली कांग्रेसका वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनमा एकलौटी विजय हात पारेको संस्थापन पक्ष हाबी भएको ठहरसहित संस्थापनइतर पक्षले गठबन्धनको विपक्षमा गोप्य भेला र छलफललाई तीव्रता दिन थालेको छ ।
सुर्खेत कांग्रेसका निवर्तमान सभापति कमलराज रेग्मी, नेताहरु नारायण कोइरालालगायतको टोलीले आउने स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षले कम्तिमा चार पालिकाको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेको छ तर पाँच दलीय गठबन्धन हुँदा काँग्रेसलाई हानि हुने भन्दै उक्त समूहले फरक रणनीति बनाउन थालेको हो ।
पछिल्लो समयमा सुर्खेत कांग्रेस नौवटै पालिकामा सहजै जीत हासिल गर्न सकिने आँकलन गरिरहेको छ । २०७४ सालको निर्वाचनमा कांग्रेसले वीरेन्द्रनगर, पञ्चपुरी, भेरीगंगा, गुर्भाकोट नगरपालिका, बराहताल र चिङ्गाड गाउँपालिकामा जीत हासिल गरेको थियो ।
कांग्रेस एक्लैले जितेका उक्त पालिका यसपटक गठबन्धनका कारण गुम्नसम्ने खतरा भएको भन्दै शेखर पक्षले आपत्ति जनाइरहेको छ । कांग्रेस सुर्खेतका निवर्तमान सभापति रेग्मीसहित शेखर पक्षका नेता कार्यकर्ताले पहिलोदेखि गठबन्धनको विपक्षमा मत जाहेर गर्दै आएका छन् ।
‘हामीले सकेसम्म कम्युनिष्टहरुसँग गठबन्धन गरेर जान हुँदैन । त्यसले काँग्रेसलाई नै नोक्सान हुन्छ भन्दै आएका छौं’, निवर्तमान सभापति रेग्मी भन्छन्, ‘सकेसम्म गठबन्धनका पक्षमा केन्द्रको निर्णय नहोस् भनेर हामीले खबरदारी गर्दै आइरहेका हौं ।’
उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएको बताउँदै लोकतन्त्रमा विश्वास गर्ने दलले अन्य कम्युनिष्ट दलसँग गठबन्धन गर्दा त्यसको स्थानीयस्तरमा गलत सन्देश जाने बताए । ‘सकेसम्म कांग्रेस एक्लै लडनुपर्छ भन्ने नै हो’, उनी भन्छन्, ‘गठबन्धन नै हुने हो भने कांग्रेसले पाउने पालिकाको चालिस प्रतिशतको नेतृत्व हाम्रो पक्षले पाउनु पर्छ ।’
तर, काँग्रेसका प्रदेश सभापति ललितजंग शाही भने पार्टी केन्द्रको निर्णय सबैले मान्नुपर्नेमा जोड दिन्छन् । ‘केहि साथीहरु गठबन्धन नगरौं भन्नेमा हुनुहुन्छ । कोही गरौं भन्नेमा हुनुहुन्छ’, उनले भने, ‘पार्टीका आन्तरिक समस्या समाधान गरेर पार्टी केन्द्रको निर्णयअनुसार गठबन्धन बनेको खण्डमा हामी सबै त्यसलाई स्वीकार गरेर अघि बढ्छौं ।’