एमालेको रिसले माओवादीका बाबुछोरी जिताउन सकिँदैन: चितवनका पूर्व कांग्रेस सभापति

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले नेकपा एमालेको रिसले सबै भोट खन्याएर माओवादीलाई जिताउन नसकिने बताएका छन् ।

चितवन कांग्रेसका पूर्वसभापतिसमेत रहेका गुरुङले भरतपुर महानगरपालिकामा गठबन्धन गर्दा पनि मेयरमा प्रचण्डपुत्री रेणु दाहालले अहिले नजित्ने दाबी गरे । चितवनमै प्रचण्डका बाबुछोरीलाई स्थापित गर्न खोज्दा समस्या आउनसक्ने उनको भनाइ थियो ।

‘प्रचण्डका बाउछोरी चुनाव लड्ने , कांग्रेसले भोट हालिरहने भन्ने हुँदैन । एमाले हराउन सबै माओवादीलाई दिन सकिँदैन । जनताले एमाले जिताउने गठबन्धन बनाउन सक्छन् ।’ ‘२९ वडामा जम्मा २ वडा हो माओवादीले जितेको, मतपत्र च्यातेर जिताइएको हो,’ गुरुङले थपे,‘अझैपनि पेलेर दिने हो भने तालमेल गठबन्धन जिताउन होइन, एमाले जिताउन परिणत हुनसक्छ ।’

यसो भनिरहँदा आफू तालमेलको विपक्षमा नभएको उनले बताए । उनले भने, ‘गठबन्धन हुनुपर्छ । तर, सधैँ चितवनका कांग्रेसले अरूलाई मात्र भोट हाल्नुपर्ने भन्ने हुँदैन ।’

सभापति देउवालाई आफूले चितवनमा कांग्रेस कमजोर नरहेको बताउन चाहिरहेको उनले बताए । पञ्चायतकालदेखि नै चितवनमा कांग्रेस बलियो रहेको बताउँदै उनले तीनपटक आफैं जिल्ला पञ्चायतको सभापति जितेको गुरुङले बताए ।

‘७० मा सुशील दाइ (सुशिल कोइराला)लाई लगेर जिताएका हौं । ४ वटै निर्वाचन क्षेत्र जित्यौं,’ उनले भने,‘४८ र ७४ मा हो सबै हारेको । नत्र सधैँ जितेका छौं ।’ अहिले माओवादी र एमाले जोड्दा पनि कांग्रेस नै बलियो रहेको उनले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय