ओलीको प्रश्न- एमालेले लगाइदिएको फुली अन्तरे जन्तरेहरूले फिर्ता गर्नु पर्दैन ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईतिहाइ हैसियतमा पुगेको कम्युनिष्ट पार्टीको सरकारलाई कम्युनिष्टकै बर्को ओढेका ‘जन्तरे अन्तरे’ ढालेको बताएका छन् ।

आफ्नो पार्टीबाट निर्वाचित भएका मेयर र सांसदहरूले राजीनामा नदिएको भन्दै उनले आलोचना गरे ।इलाममा आयोजित पार्टीको जनसभामा बोल्दै ओलीले आफ्नो पार्टीबाट निर्वाचित भएकाहरुले अलग भइसकेपछि भत्ता खाएर बसिरहन नमिल्ने पनि बताए ।

उनले भने, ‘हेर्नुस्त, एमाले कार्यकर्ताले जुत्ता-चप्पल खियाए र पसिना बगाएर अन्तरे-जन्तरेलाई भोट हालेकाहरूले राजीनामा गर्नुपर्दैन ? भत्ता खाइराख्ने ? एमालेले लगाइरहेको सांसदको फुली, मेयरको फुली बोकेर फिर्ता गर्नुपर्दैन ? विचार गर्नुस् त, कति साह्रो लाज नभएको ? कमसेकम एमालेले टाँसिदिएका जुँगा त खौरिएर छोड्नुपर्छ नि ।

एमालेले लगाइदिएको जुँगामा ताउँ लगाएर एमालेको बाकस खाली गर्छु भन्ने ? बाकस कसको खाली हुन्छ म भन्दिनँ, तपाईंहरूले जवाफ दिनुपर्छ । यस्ता गुन बिर्सिने र स्वार्थका पछाडि कुद्ने तत्वहरुलाई तपाईंहरूले मुखभरिको जवाफ दिनुपर्छ ।’

ओलीले पाँच दलीय गठबन्धनलाई चुनावमा एउटै कुचाले बढार्ने उद्घोष गरे । ‘हामी चुनाव पर्खिरहेका छौं । वैशाख ३० गते एमालेले देशभरिबाट पाँच दललाई एउटै कुचाले बढार्छ । जबसम्म पाँच दलीय गठवन्धनको भाँडो रित्तिदैँन, तबसम्म हामी एमालेमा प्रवेश गराउँदै जाने हो ’, ओलीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय