चुनावमा होमियो एकीकृत समाजवादी, संगठन विस्तारसँगै चुनावी प्रचार !

काठमाडौं । नेकपा एकीकृत समाजवादी स्थानीय निर्वाचनको अभियानमा होमिने भएको छ । समाजवादीको आज बसेको सचिवालय बैठकले निर्वाचन अभियानको नारा र प्रदेशगत अनुगमनको जिम्मेवारी टुुंगो लगाएको छ ।

समाजवादीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार पार्टीले संगठन निर्माण, सदस्यता वितरण र चुनावी प्रचारको कामलाई एकैसाथ अगाडि बढाउने छ । निर्वाचन अभियानका लागि ‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ नारा तय गरिएको छ ।

‘जनतामा जाऔं एकीकृत समाजवादीलाई जिताऔं भन्ने नाराका साथ हामी निर्वाचन अभियानमा होमिदैछौं । अभियानका लागि सातवटै प्रदेशमा केन्द्रीय कार्यालयका नेताहरुलाई अनुगमनका लागि खटाउने निर्णय पनि गरेका छौं’, बैठकपछि प्रवक्ता खतिवडाले पत्रकारहरुसँग भने ।

समाजवादीले प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, वागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्विनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव वेदुराम भूसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झालाई अनुगमनका लागि खटाउने निर्णय गरेको छ ।

उनीहरुले प्रदेश अन्तर्गतका स्थानीय तहमा संगठन निर्माण, सदस्यता वितरण र निर्वाचन प्रचारका लागि भएका कामहरुको अनुगमन गर्नेछन् । त्यस्तै सम्बन्धित प्रदेशका स्थानीय तहहरुमा पार्टी संगठनको वास्तविक अवस्था र शक्ति परीक्षण गरेर प्रतिवेदनसमेत तयार गर्नेछन् ।

यसैबीच नेकपा समाजवादीले चुनावी गठबन्धन अपरिहार्य भएको भन्दै तालमेलको बाटो खुला राख्ने निर्णयसमेत गरेको छ । प्रवक्ता खतिवडाले निर्वाचनमा तालमेलका लागि खुला रहने निर्णय भइसकेको भन्दै गठबन्धनमा रहेका अन्य दलहरुपनि तालमेलको पक्षमा रहेको बताए ।

‘हामीले चुनावी तालमेलका लागि हात खुला राखेका छौं । माओवादी र समाजवादी पार्टीले पनि तालमेलको पक्षमा निर्णय लिइसकेका छन् । अब कांग्रेसले पनि चाँडै यसबारे निर्णय लिओस् भन्ने हाम्रो सुझाव छ’, खतिवडाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय