माओवादीको निर्वाचन रणनीतिः ५ केन्द्रीय सदस्यलाई ५ कमाण्डको जिम्मा

विराटनगर । नेकपा माओवादी केन्द्रले सिंगो पार्टीलाई आगामी वैशाखमा हुने तय भएको स्थानीय तह निर्वाचनको लागि परिचालन गर्ने भएको छ । पार्टीले प्रदेश १ मा १४ जिल्लालाई केन्द्रीय सदस्यको नेतृत्वमा ५ वटा कमाण्ड निर्माण निर्वाचनमा परिचालन गर्ने भएको हो ।

‘समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार’ भन्ने मूल नाराका साथ पार्टीले दुई महिने अभियानात्मक कार्यक्रम तय गरेको छ । अभियानमा वैचारिक राजनैतिक कार्यक्रम, संगठन सुदृढीकरण, व्यवस्थापकीय कार्यक्रम, सूचना सञ्चार तथा प्रचारसम्बन्धी कार्यक्रम, अध्ययन सर्वेक्षण तथा विश्लेषणसम्बन्धी कार्यक्रम, राजनीतिक तथा प्रशासनिक समन्वय, सांस्कृतिक कार्यक्रमजस्ता कार्यक्रम तय गरिएको छ ।

प्रदेशमा ताप्लेजुङ, पाँचथर र इलामलाई मिलाएर एउटा कमाण्ड बनाइएको छ । त्यसको कमाण्ड केन्द्रीय सदस्य तथा प्रदेश १ सरकारका आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोले गर्नेछन् । यस्तै केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेले झापा, मोरङ र सुनसरी तीन जिल्लाको कमाण्डको इन्चार्जशीप गर्नेछन् भने धनकुटा, तेह्रथुम संखुवासभाको कमाण्ड केन्द्रीय सदस्य हेमराज भण्डारीले गर्ने भएका छन् । भोजपुर र खोटाङ कमाण्ड केन्द्रीय सदस्य अजम्बर काम्बाङले हाँक्नेछन् भने उदयपुर, ओखलढुंगा र सोलुखुम्बुको कमाण्ड गर्ने जिम्मा केन्द्रीय सदस्य सुरेशकुमार राईलाई दिइएको छ ।

 

पार्टीका प्रदेश इन्चार्ज राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङसहितको प्रदेश हेटक्वाटर निर्माण गरिएको छ । केन्द्र र प्रदेश कमिटीका योजनाहरु रचनात्मक र सृजनात्मक ढंगले पालिका र वडामा कार्यान्वयन गराउन कमाण्ड निर्माण गरेको पार्टीले जनाएको छ । कमाण्डको अस्थायी चुनावी संरचनाले पार्टीका साबिक स्थायी संरचना प्रदेश, जिल्ला समन्वय समिति र पालिकालाई कुनै असर नगर्ने पार्टीले जनाएको छ ।

दुई महिने अभियानमा कमाण्डकै मातहतमा सबै केन्द्रीय सदस्यहरु, प्रदेश समिति सदस्यहरु, परिषद् सदस्यहरु, विभाग सदस्यहरू, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट मञ्च, जिल्ला समन्वय समितिका सदस्यहरू र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु परिचालित हुनेछन् । अभियानको क्रममा अध्यक्ष प्रचण्डकै सहभागितामा प्रदेश स्तरीय प्रशिक्षण करिब १ हजार ५ सय कार्यकर्ताको सहभागितमा विराटनगरमा फागुन २९ गते सम्पन्न भइसकेको छ ।

दुई महिने अभियानका लागि सो पार्टीले ‘गाउँ नगर घरघर जाऔं, माओवादी केन्द्रलाई विजयी गराऔँ, माओवादीको नीति र नेतृत्व संघीय व्यवस्था र समानुपातिक प्रतिनिधित्व, नेपाली जनक्रान्तिको अमूल्य उपहार संघ, प्रदेश र स्थानीय सरकार, सबै खाले प्रतिगामी षड्यन्त्रको प्रतिकार गरेर जनक्रान्तिका उपलब्धिको रक्षा र बिस्तार गरौँ जस्ता नारा तय गरेको छ । यस्तै, श्रम, रोजगार उत्पादन र आर्थिक समृद्धि सामाजिक सांस्कृतिक रूपान्तरणको अभिवृद्धि गरौँ, विभेद, उत्पीडन र भ्रष्टाचारको अन्त्य गरौँ, सामाजिक न्याय, सुशासन र समतामूलक समाजको विकास गरौँ’ जस्ता नारा तय गरेको पार्टीले जनाएको छ ।

पार्टीको केन्द्रीय समितिको पछिल्लो बैठकले चुनावी अभियानका लागि देशभर २८ वटा कमाण्ड बनाउने निर्णय गरेको थियो । त्यसै अनुसार प्रदेश १ पार्टीको पदाधिकारी र प्रदेशमा रहेका केन्द्रीय सदस्यको बैठकले कमाण्डको कार्यविभाजन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय