आधार इलाकामै अस्तित्व जोगाउन माओवादीलाई सकस!

रामप्रसाद आचार्य – रुपन्देही । स्थानीय तहको निर्वाचन नजिकिएसँगै माओवादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको लुम्बिनीमा चुनावी कार्यक्रम तय गरेर शीर्ष नेताहरुलाई जिल्ला पठाएको छ ।

नेता वर्षमान पुन बिरामी परेदेखि लुम्बिनी क्षेत्रमा विशेष कार्यक्रम कम हुँदै आएकोमा अहिले उनी फर्किएपछि पुनः सुचारु भएको हो । चार महिनाअघि प्रदेश अधिवेशन भए पनि पदाधिकारी छनौट गर्न नसकेको माओवादीले बुधबार त्यो विवाद पनि टुंगो लगाएको हो । प्रदेशको पहिलो बैठक आयोजना गरेर माओवादी केन्द्रले नेता सुदर्शन बराललाई अध्यक्षसहित पदाधिकारीको टुंगो लगाउँदै लुम्बिनीका १२ जिल्लामा केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिएर चुनावी कार्यक्रम तय गरेको नेता जगप्रसाद शर्माले जानकारी दिएका छन् ।

माओवादीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीका लागि विशेष प्रशिक्षण अभियान सञ्चालन गर्न सबै जिल्लामा एक–एक जना वरिष्ठ केन्द्रीय सदस्यको नेतृत्वमा जिम्मेवारी दिँदै ‘जसको नीति उसको नेतृत्वः स्थानीय चुनावमा माओवादी बर्चश्व’ भन्ने नाराका साथ चुनाव केन्द्रीत हुने रणनीति तय गरेको हो ।

सबै जिल्लाका स्थानीय तहसम्म चैत ५ गतेदेखि चैत १५ गतेसम्म विशेष प्रशिक्षण गरिने माओवादीले जनाएको छ । प्रशिक्षणका क्रममा चुनावी अवस्थाको आंकलन गरी नेताहरुले प्रदेश र केन्द्रीय कार्यालयमा रिपोर्ट पनि पेश गर्नेछन् । जसका आधारमा थप चुनावी रणनीति तय गरिने केन्द्रीय सदस्य जगप्रसाद शर्मा ‘अपार’ले जानकारी दिए ।

त्यस्तै चैत १५ गतेदेखि घरदैलो र जनभेटघाट सुरु गरिने सो पार्टीले जनाएको छ । चैत १५ देखि वैशाख २५ सम्म टोल भेला र टोल सभा, वडा भेला र वडा सभा तथा पालिका भेला र पालिका सभा गरेर वैशाख २५ देखि बुथकेन्द्रित विशेष अभियान सञ्चालन गरिने केन्द्रीय सदस्य शर्माले जानकारी दिए ।

माओवादीले रोल्पामा दिपेन्द्र पुन, प्युठानमा जोगबहादुर महरा, रुकुमपूर्वमा कमला रोका, अर्घाखाँचीमा डिलाराम आचार्य, कपिलवस्तुमा जयपुरी घर्ती, नवलपरासीमा बामदेव क्षेत्री, पाल्पामा जगप्रसाद शर्मा, गुल्मीमा गणेशमान पुन, दाङमा रेखा शर्मा, बर्दियामा ओनसरी घर्ती र बाँकेमा पूर्णा सुवेदीलाई प्रशिक्षकको रुपमा खटाएको छ ।

लुम्बिनी माओवादीका शीर्ष नेता वर्षमान पुन, ओनसरी घर्ती, कृष्णबहादुर महरा, चक्रपाणि शर्मा बलदेव, डिलाराम आचार्य, कुलप्रसाद केसी सोनाम, जयपुरी घर्ती, हकिउल्लाह खाँलगायतका शीर्ष नेताहरुको प्रदेश भएकाले उनीहरुको विशेष प्रभाव रहेको छ ।

माओवादीले सशस्त्र युद्धको सुरुवात गरेको क्षेत्र रुकुम, रोल्पालगायतका युद्धकालका विशेष क्षेत्र यही प्रदेशमा भएकाले आधार इलाका मान्दै आएको छ । तर पछिल्लो समय यहाँबाट त्यो समयमा विशेष प्रभाव पार्ने नेताहरु बाहिरिएकाले पार्टी कमजोर बनेको छ ।

तत्कालीन समयमा माओवादीमा विशेष प्रभाव राख्ने नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, माधव शर्मा एमएस, गिरीधारीलाल न्यौपाने, दिनेश पन्थी, चन्द्रबहादुर खड्का, अनुप बराललगायतका प्रभावशाली नेताहरु अहिले एमालेको विशेष जिम्मेवारीमा रहेका छन् भने नेता मोहन वैद्य किरणले अलग्गै पार्टी क्रान्तिकारी माओवादी बनाएर बसेका छन् ।

सोही समयमा प्रभावशाली नेता नेत्रविक्रम चन्द विप्लव अलग्गै पार्टी बनाएर ठूलो शक्ति यही प्रदेशबाट परिचालन गरिरहेका छन् । त्यसैगरी नेता बाबुराम भट्टराई समूहमा रहेका नेता कार्यकर्ताहरु जसपामा रहेकाले माओवादीको आधार इलाका मानिएको मुख्य प्रदेशमा पार्टी कमजोर बनेको हो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेर केही स्थानमा सुरक्षित भएको माओवादी आउने निर्वाचनमा पनि सत्तारुढ दलहरुसँग नै गठबन्धन गरेर अगाडि जाने रणनीतिमा छ । – नेपाल प्रेसबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय