बहुमत पुर्‍याउन नेताहरूको दैलोमा

बहुमत पुर्‍याउन नेताहरूको दैलोमा ‘ललिपप’ पठाउँदै ओली, बामदेव गौतमले दिए कडा जवाफ
काठमाडौं – नेकपाको सचिवालय बैठक मंगलबारका लागि बोलाइएको छ । सोही बैठकबाट नेकपा विवाद मत्थर पार्ने प्रयासमा प्रधानमन्त्री केपी ओली लागेका छन् ।

यसका लागि उनले आफ्ना विशेष सहयोगी नेकपा महासचिव विष्णु पौडेल र उप्रधानमन्त्री ईश्वर पोखरेललाई जुनसुकै हालतमा उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा पार्न खटाएका छन् ।

यहीबीचमा महासचिव पौडेल र उपप्रधानमन्त्री पोखरेलले उपाध्यक्ष गौतमलाई भेटेर विभिन्न किसिमका प्रस्ताव राखे पनि । पोखरेल त गौतमको भैंसेपाटीस्थित निवासमै पुगेका थिए । शुक्रबार राति गौतम र पोखरेलबीच करिब एक घन्टा लामो भेटवार्ता भएको थियो ।

गौतम र पोखरेलबीच त्यति हार्दिक सम्बन्ध छैन । किनभने एमाले माले हुँदा पोखरेलले गौतमलाई निकै खेदेका थिए । पार्टी विभाजन गरेको भन्दै वामदेवलाई पार्टीमा जिम्मेवारी दिन नहुने भन्दै लबिङ गर्नेमा पोखरेल निकै अघि छन् ।

तर, उनै पोखरेल गत शुक्रबार गौतमको शरणमा पुगे । त्यो पनि केपी ओलीको कुर्सी जोगाउन भन्दै । उनले गौतमलाई विगत र भविष्यको कुरा कोट्याए । आगामी दिनमा उपप्रधानमन्त्री भएर सरकारमा आउन आग्रह गरे ।

तर, गौतम फकिएनन् । स्रोतका अनुसार उनले पोखरेललाई भनिदिए, ‘तपाई पनि त्यता नबस्नोस् । जतिसुकै गरे पनि ओलीले तपाईलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउने छैनन् । त्यसैले तपाई अहिले नै उहाँको साथ छाड्नुस् ।’

गौतमको कुरा सुनेपछि पोखरेलले निलो अनुहार लगाएको भैंसेपाटी स्रोतले बताएको छ । पोखरेललाई जस्तै गौतमले महासचिव पौडेललाई पनि सुझाव दिएको बताइन्छ ।

पौडेललाई लक्षित गर्दै शनिबार सम्पन्न सचिवालय बैठकमा गौतमले बैठक राख्न नचाहने अध्यक्षलाई पार्टी महासचिवले साथ दिन नहुने धारणा राखेका थिए । गौतमको यो सुझावपछि पौडेल अहिले पार्टीभन्दा सरकारको काममा बढी खटिन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय