रोहित र आरिफको अर्धसतकमा पीएनजीमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले सुखद सुरुवात गरेको छ ।

आफ्नो पहिलो म्याचमा नेपालले पपुवा न्यूगिनीविरुद्ध २ विकेटको रोमाञ्चक जित हात पार्यो । नेपालको जितमा मध्यक्रमका ब्याट्सम्यानहरु रोहितकुमार पौडेल र आरिफ शेखले महत्वपूर्ण योगदान दिएका थिए ।

अन्तिम समयमा नेपालका लागि चुनौतीपूर्ण अवस्था उत्पन्न भएको थियो । तर तल्लोक्रमका करन केसीले आक्रामक ब्याटिङ गर्दै नेपाललाई जितसम्म डोहोर्याए । उनले २५ बलमा २ छक्का र एक चौकासहित २९ रनको महत्वपूर्ण योगदान दिए ।

यसअघि रोहित र आरिफ दुवै अर्धसतक बनाएर आउट भएका थिए । उनीहरुको शानदार सतकीय साझेदारीपछि नेपालले २ सय ५ रनको लक्ष्य ४९ ओभर २ बलमा ८ विकेट गुमाएर पुरा गर्‍यो । रोहित पौडेल र आरिफ शेखबीच पाचौँ विकेटका लागि एक सय २ रनको साझेदारी भएको थियो ।

नेपालले ४२ रन जोड्दा ४ विकेट गुमाएको अवस्थामा रोहितले आरिफसँग महत्वपूर्ण साझेदारी गरेका हुन् ।

रोहित पाचौँ विकेटका रुपमा ५८ रन जोडेर आउट भए । आरिफले ५३ रन जोडे । आसिफ शेखले १६, विनोद भण्डारीले ११ रन बनाए । कुशल भुर्तेल १, ज्ञानेन्द्र मल्ल ४ र दीपेन्द्रसिंह ऐरी ८ रन जोडेर आउट भए ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित पौडेलले चौथो अर्धसतक बनाएका हुन् । रोहितले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ४ अर्धसतक बनाउने नेपाली ब्याट्सम्यानका रुपमा ज्ञानेन्द्र मल्लको कीर्तिमान पनि बराबरी गरेका छन् ।

पीएनजीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन जोडेको थियो । नेपालका सोमपाल कामीले ३ तथा सन्दीप लामिछाने, आरिफ र ज्ञानेन्द्र मल्लले एक एक विकेट लिए ।

विश्वकप लिग-२ मा नेपालले ९ खेलबाट १० अंक जोडेको छ । नेपालले दोस्रो खेलमा शुक्रबार यूएईसँग प्रतिस्पर्धा गर्ने छ । – नेपाल प्रेसवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय