एमालेले ७० प्रतिशत स्थानीय तह जित्ने ओलीको गफप्रति उनकै नेता कार्यकर्तामा छैन विश्वास

काठमाडौं – अब स्थानीय तहको निर्वाचन आउन दुई महिना पनि बाँकी छैन । सबै राजनीतिक दल चुनाव केन्द्रित भइसकेका छन् ।

सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा गाउँगाउँ पुगिसकेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले पनि चुनावको तयारीमा लागेको छ । तर, पार्टी विभाजन भएको र पार्टी छाड्नेको लहर चलेकाले एमालेमा अझै तातो लागेको छैन । अझै पनि एमालेमा एकता छैन । भीम रावल, घनश्याम भुसाल, भीम आचार्यलगायतका नेतालाई कर्नर पार्ने क्रम रोकिएको छैन ।

आफैंमा विभाजित भएका बेला एमाले अध्यक्ष केपी ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दाबी गरेका छन् । मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् । तर, ओलीको यो दाबीप्रति उनकै पार्टीका नेता कार्यकर्तामा भरोसा देखिएको छैन ।

एमालेमा सैद्धान्तिक चेत भएका र संगठन बनाउन सक्ने हजारौं नेता कार्यकर्ता बाहिरिएका छन् । माधव नेपाल, झलनाथ खनालले एकीकृत समाजवादी पार्टी खोलेका छन् । आफ्नो पार्टीमा चिरा परेपछि ओली अहिले राप्रपा, जसपा, माओवादी केन्द्रबाट नेता कार्यकर्ता चोर्ने अभियानमा लागेका छन् । तैपनि उनमा अझै दुई तिहाइ ल्याउने अहंकार हटेको छैन ।

उनले मंगलबार भने, ‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ । हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको सहारा लिनुपर्दैन ।’ यतिबेला सत्तारुढ गठबन्धन तोड्न ओली भरमग्दुर प्रयास गरिरहेका छन् । त्यसका लागि उनले कांग्रेसका शेखर कोइराला पक्षका नेताहरूलाई भेटेर मन्त्रणा गरिरहेका छन् ।

यदि गठबन्धन कायम भएमा एमालेको के हालत हुन्छ, त्यो त जेठ पहिलो साता नै छर्लग हुन्छ । त्यही भएर आफ्नो पार्टी अझै बलियो छ भनेर देखाउन ओलीले ढाँट्न छाडेका छैनन् । तर, अधिकांश एमालेका नेता कार्यकर्ता भने गठबन्धन चुनावसम्मै कायम रहेमा आफ्नो पार्टीले नसोचेको पराजय बेहोर्ने भन्दै चिन्तित देखिन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय