फागुन मसान्तभित्र भ्रातृ संस्थालाई पूर्णता दिन कांग्रेस असफल

काठमाडौं । स्थानीय निर्वाचन केन्द्रीत १ महिने अभियान सुरु गरेपनि रिक्त रहेका भ्रातृ संस्थाहरुलाई पूर्णता दिन नेपाली कांग्रेस असमर्थ भएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी फागुन मसान्तसम्म भ्रातृ संस्थाहरुको तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

फागुन ३ गते सम्पन्न कांग्रेस कार्यसम्पादन समिकिो बैठकले सभापति देउवालाई नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ लगायत १० भ्रातृ संस्थालाई फागुन मसान्तभित्र पूर्णता दिने जिम्मेवारी सुम्पिएको थियो । यद्यपि तयारी पूरा नभएका कारण फागुनभित्र भ्रातृ संस्थाहरु गठन हुन नसकेका हुन् ।

कांग्रेसका एक पदाधिकारीका अनुसार नेविसंघका सन्दर्भमा उमेर हद लगाउने वा नलगाउने भन्ने विषयमै शीर्ष तहमा कुरा मिलेको छैन । एमसीसी अनुमोदन र १ महिने अभियानको तयारीमा व्यस्त भएकाले पनि भ्रातृ संस्थाबारे निर्णयमा ढिलाई भएको ती पदाधिकारीले बताए ।

‘नेविसंघमा उमेरको कुरा पनि आएको छ । अर्कोतिर एमसीसी अनुमोदनमा प्रधानमन्त्री एवं सभापति व्यस्त हुँदा भ्रातृ संस्थाबारे गहन छलफल हुनपनि सकेको छैन’, उनको भनाई छ ।

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भ्रातृसंस्थाको तदर्थ समिति गठनबारे तयारी गर्न जिम्मेवारी दिएका छन् । ती नेताहरुपनि व्यस्त भएकाले अझै केही समय लम्बिने देखिएको हो । ‘भ्रातृ संस्था बनाउनेबारे छलफल हुनै बाँकी छ । अब छिट्टै काम थाल्दापनि हप्ता दसदिन त लागिहाल्छ’, एक कांग्रेस नेताले भने ।

कांग्रेसका १० भ्रातृसंस्थामा सिंगो तदर्थ समिति नयाँ ल्याउनुपर्नेछ भने केही भ्रातृ संस्थाहरुमा रिक्त पदमा मनोनयन गर्न बाँकी छ । – नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय