मधेशमा ओलीको आक्रामक अभियान, आदर्श कोटवाल गाउँपालिका अध्यक्ष मुस्तफा एमाले प्रवेश

बारा । बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी शनिबार जनता समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बाराको जयनगर (चिउँटाहा) मा आयोजित विशाल जनसभामा अध्यक्ष अन्सारी आफूनिकट वडाध्यक्ष र पार्टीका नेता कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् । मुस्तफालाई एमालेमा प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली आफैं बारा पुगेका छन् ।

अध्यक्ष ओलीसँगै मधेश इन्चार्ज रघुवीर महासेठ,प्रभु साह,ज्वालाकुमारी साह लगायतका नेताहरु बारा पुगेका थिए ।

नवप्रवेशीहरुलाई अबिर माला लगाएर एमालेमा स्वागत गरिएको थिष्यो । मुस्तफाले जसपा लगायत मधेशवादी पार्टीले मधेशी जनतालाई झुक्याएको र एमालेलाई मधेशविरोधी भनिए पनि मधेशको विकासमा केपी ओलीकै पालामा ठूला काम भएको भन्दै आफू एमाले प्रवेश गरेको बताए ।

ओलीले अब मधेश प्रदेशमा एमालेले तुफान सिर्जना गरेको भन्दै अहिलेका प्रवेशहरु ट्रेलरमात्र भएको बताए । मधेशका जिल्ला सदरमुकामको सडक बिस्तारदेखि ठूला पुर्वाधारको सुरुवात आफूले गरेको ओलीले बताए ।

पार्टी प्रवेशमा कलैया नगरपालिकाका वडाध्यक्षहरु समेत समेटिएका जिल्ला अध्यक्ष विनोद साहले बताए ।पछिल्लो समय एमाले अध्यक्ष ओलीले मधेश मिसन नै चलाएका छन् । विभिन्न जिल्लाबाट प्रभावशाली नेता तथा जनप्रतिनिधिहरुलाई एमाले प्रवेश गराउने क्रम तीब्र भएको छ ।

शनिवारमात्रै उनले वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीसहित तीन वडाध्यक्ष प्रवेश गराएर बारा पुगेका हन् । पर्सामा मात्रै यसबीचमा दुई स्थानीय तहका प्रमुखसहित धेरै प्रभावशाली नेता एमाले प्रवेश गरेका छन् । -नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय