आगलागी पिडित दृष्टिविहीन दाजुभाइलार्ई आर्थिक सहयोग हस्तान्तरण

गुल्मी। गुल्मीको मालिका गाउँपालिका वडा नं ६ अर्जे पौवाका आगलागी पिडित दुई दाजुभाइलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

दृष्टिविहिन दुई दाजुभाइलाई एमाले नेता शेषकान्त गौतमले ६० हजार ८ सय १० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् । गत मंसिर ४ गते साँझ दुई दाजुभाई खिमप्रसाद भूसाल र मोतीलाल भूसाल बसिरहेको घर– घरगोठमा एक्कासी आगलागी भई घरगोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

जन्मजात रुपमा नै दृष्टि गुमाएका दुई दाजुभाईको काम नगरे सम्म चुलो बल्दैन  तर उनीहरूले सक्ने र भ्याएसम्मका काम आफैँ गरेर घरपरिवार चलाएका छन् ।

गत मंसिरमा घरगोठमा आगलागी भएपछि भूसाल दाजुभाइको मात्र नभएर परिवारकै बिचल्ली भयो । आगलागीबाट पशुचौपायाबाहेक केही जोगिएन  ।

‘दैव लागेपछि जलेको घरमा ढलेको मन बुझाएर बसेका छौँ ।’ ‘घरगोठसँगै फेर्ने कपडा रहेनन्,’ खिमप्रससादले भने, अहिले दृष्टिविहीन दाजुभाइको परिवार जलेर खण्डहर बनेको घरको ओत लागेका छन् । ‘गाउँलेले नबस्न भन्थे । तर, बारी कुनामा त्रिपालमुनि जाडो थेग्न सकस प¥यो,’ उनले भने, ‘जोखिम मोलेरै भए पनि जलेको घरकै तलामुनि बसिरहेका छौँ ।’ आर्थिक सहयोग पाए घरकै पुनर्निर्माण गर्ने सोच रहेको उनले बताए ।

दृष्टिविहीन परिवार आगलागीका कारण बिचल्लीमा परेपछि गुल्मीको तम्घासमा एमाले नेता शेषकान्त गौतमको पहलमा संकलन गरिएको ६० हजार ८ सय १० रुपैयाँ सहयोग रकम गौतमले आगलागी पिडित भूसाललाई हस्तान्तरण गरेका हुन् । उनले सहयोग रकम हस्तान्तरण गर्दै तम्घासमा आफू सहित पत्रकारहरुको पहलमा रकम संकलन गरिएको जानकारी दिए । गौतमले आगलागी पिडित तथा प्राकृतिक विपत्तिमा पर्ने नागरिकहरुका लागि स्थानीय सरकारले ठोस कार्यक्रम ल्याएर उनीहरुलाई घरवास विहिन बनाउन नहुने बताए । उनले गाउँलेहरुले श्रमदान गरेर भएपनि दृष्टिविहिन दाजुभाइहरुका लागि घर बनाउन पहल गर्नुपर्ने बताए ।

गौतमले आर्थिक रकम सहयोग गर्ने गुल्मी अस्पताल, जिल्ला प्रशासनलगायत तम्घासका विभिन्न व्यक्ति र संस्थालाई धन्यवाद् दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय