प्रचण्डले लगाएका झुठा आरोपको जवाफ दिन्नँ प्रधानमन्त्री अब प्रचण्डसँग सँगै हिँड्न नसकिने ओलीको निश्कर्ष

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपहरु झूठा भएको बताएका छन् । आफूले त्यस्ता ‘वाहियात एवं झूठा आरोपहरुको जवाफ नदिने प्रधानमन्त्रीको अडान छ ।

आइतबार बालुवाटारमा महासचिव विष्णु पौडेललाई साक्षी राखेर प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले आफूमाथि यसैगरी आरोप लगाउने हो भने आफू पनि अर्को ‘एक्स्ट्रिम’मा जान सक्ने बताएका थिए ।

बैठकमै बसेर आरोपहरुको खण्डन गर्न सकिने वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । तर, प्रधानमन्त्रीले त्यस्ता ‘वाहियात आरोप’को आफूले जवाफ नदिने बताएको स्रोतले भन्यो ।
बैठकमै बसेर आरोपहरुको खण्डन गर्न सकिने वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । तर, प्रधानमन्त्रीले त्यस्ता वाहियात आरोपको आफूले जवाफ नदिने बताएको स्रोतले भन्यो ।

वरिष्ठ नेता नेपाल र महासचिव पौडेलसँग भएको दुईघण्टा लामो कुराकानीमा प्रधानमन्त्री ओलीले अब प्रचण्डसँग सँगै हिँड्न नसकिने बताउँदै आफूलाई सहयोग गर्न नेपालसँग आग्रह गरेका थिए ।

वरिष्ठ नेता नेपालले त्यसरी अर्को छोरमा पुगेर सोच्दा समस्या समाधान नहुने भन्दै संयमित भएर समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको स्रोतले बतायो ।

आइतबार माधव नेपाल र विष्णु पौडेलसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीले बालुवाटारमै उपाध्यक्ष वामदेव गौतमसँग करिब डेढघण्टा छलफल गरेका थिए ।

सघन परामर्शमा प्रधानमन्त्री

शुक्रबारको सचिवालय बैठकपछि नेकपाको आन्तरिक राजनीतिमा थप तरंग उत्पन्न भएको छ । सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीको राजीनामा माग्ने आशयको त्याग गर्नुपर्ने० राजनीतिक प्रस्ताव पेश गरेपछि त्यसको ‘काउन्टर’ कसरी गर्ने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सघन सम्वाद अगाडि बढाएका छन् ।

आइतबारसम्म आइपुग्दा प्रधानमन्त्री ओलीले पार्टीभित्रका विभिन्न नेताहरुका साथै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरिसकेका छन् । आइतबार उनले उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपालसँग बालुवाटारमा बेग्लाबेग्लै छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले छलफलका लागि बालुवाटार बोलाएपछि नेता नेपालले भीम रावललगायतका नेताहरुलाई पनि लिएर आउने प्रस्ताव गरेका थिए । तर, ओलीले सचिवालयस्तरमा मात्रै कुराकानी गरौं भनेपछि महासचिव पौडेलसहित तीनजनावीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।

माधव–ओली भेटमा उपाध्यक्ष वामदेव गौतमलाई पनि सँगै बस्न आग्रह गरिए पनि ‘मैले प्रधानमन्त्रीसँग अघि नै कुराकानी गरिसकें’ भन्दै गौतम नआएको बुझिएको छ ।

गत शुक्रबारको सचिवालय बैठकमा प्रचण्डले अप्रत्यासितरुपमा आफूविरुद्ध प्रस्ताव दर्ता गराएपछि चकित बनेका प्रधानमन्त्रीले त्यही दिन बैठक सकिएलगत्तै बालुवाटारमा माधवकुमार नेपालसँग छुट्टै कुराकानी गरेका थिए ।

नेता नेपालसँगै उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा बादलसँग पनि प्रधानमन्त्री ओलीले अब के गर्ने भन्नेबारे छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले बैठकको भोलिपल्ट शनिबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि पछिल्लो राजनीतिक परिस्थिति एवं पार्टीमा उत्पन्न समस्याबारे छलफल गरेका थिए ।

शुक्रबार केहीबेर बसेर मंसिर ३ गते बस्ने गरी सचिवालय बैठक स्थगित भएको छ । मंसिर ३ को बैठकमा प्रचण्डको लिखित प्रस्ताव, केपी ओलीको १० पन्ने पत्रलगायतका डकुमेन्टहरु अध्ययन गरेर त्यसमाथि छलफल गर्ने भनिएको छ । तर, प्रधानमन्त्रीले प्रचण्डले लगाएका आरोपको जवाफ नदिने नेताहरुलाई स्पष्ट पारेका छन् ।

उता, स्थायी कमिटी सदस्य शंकर पोखरेल लगायतका ओली पक्षका नेताहरुले प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव फिर्ता हुनुपर्ने अडान राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय