कस्तो रहला तपाइको यो साता हेर्नुहोस साप्ताहिक राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ-साता केही संघर्षमय रहनेछ। विभिन्न अवसरले पछ्याए पनि धेरै बोल्ने बानीले गोपनीयता बाहिरिन सक्छ।

सोमवार र मंगलवार काममा प्रगति हुनेछ। सहयोगी र शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ। छोटो समयमा लक्ष्य प्राप्त गर्न सकिनेछ।

बुधवारपछि पारिवारिक असमझदारीले समस्या निम्त्याउनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। आफन्तहरूको सञ्जालबाट टाढा रहँदा नै राम्रो हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो-प्रारम्भमा इच्छाशक्ति बढ्नाले नयाँ काम थालनी हुनेछ। तर महत्त्वाकांक्षी काम आँट्नाले बीचमा समस्या आउन सक्छ। भेटघाटले अलमल्याउने हुँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ। बोली तथा हिसाबकिताबमा सजग नहुँदा आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। 

बुधबारपछि स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन् । सहयोगीहरूले साथ दिनेछन् । व्यापार बढ्नेछ र नयाँ काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूको सहयोगले हौसला प्रदान गर्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।अवरोध आए पनि कर्मको उचित फल प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह-प्रारम्भमा स्वास्थ्य र अर्थमा समस्या पर्न सक्छ। आकस्मिक खर्च बढ्नेछ भने समस्या टार्न कर्जा लिनुपर्ने हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सोमवारदेखि स्थितिमा सुधार आउनेछ। आफन्तको सहयोग जुट्नाले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने परिस्थिति जुट्नेछ। 

वादविवादमा अघि नसर्नुहोला। निम्तो आए पनि आतिथ्य खर्चिलो हुनेछ। अवसरले पछ्याए पनि कर्मगति सुस्त रहनेछ। सप्ताहान्तमा भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। व्यवसायले उत्साह जगाउनेछ। विशेष उपहारका साथै धनलाभ हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो-साताको प्रारम्भ अनुकूल रहनेछ। सुरुमा व्यापारमा लाभांश बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर सोमवारदेखि रकम खर्च गर्नुपर्ने स्थिति आउनेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। फजुल खर्चका बीच कामको बोझ बढ्न सक्छ। 

तापनि विदेश ताक्नेहरूलाई भने यात्राको प्रक्रिया अघि बढ्न सक्छ। बुधबारपछि कर्मयोगले उचाइको बाटो समाउनेछ भने भाग्य सबल रहनाले नाम, दाम र इनाम प्राप्त हुनेछ। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। सप्ताहान्तमा केही खर्च बढ्न सक्छ। आलोचकहरूले व्यर्थैमा दु:ख दिनेछन्।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे-सुरुमा प्रतिष्ठित कामले स्थापित बनाउनेछ। व्यापार र नोकरीमा दिगो फाइदा हुने काम गर्ने मौका छ। लगनशीलताले कीर्तिमानी दिलाउनेछ। सोमबारदेखि मनग्य आम्दानी हुनाले भैपरी आउने समस्या टर्नेछन्। व्यापार तथा नोकरीमा फाइदा उठाउन सकिनेछ। 

तर पछिका लागि खर्च गर्नुपर्ने हुँदा धन सञ्चयमा बाधा पुग्नेछ। अर्थ अभावले सताउन सक्छ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सञ्चित कर्मफलमा अरूले दाबी गर्नेछन्। सप्ताहान्तमा आफन्तसँग भेटघाट हुनाले आत्मबल बढ्नेछ। मिहिनेत गर्दा रोकिएका काम सम्पादन हुनेछन्।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो-केही चुनौती देखिए पनि मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनले उचाइको मार्ग अवलम्बन गर्नेछ। रोकिएका काम बन्नेछन् र नयाँ काम थालनी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नोकरी तथा व्यवसायमा मनग्य फाइदा हुनेछ। 

विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ। मिहिनेत गर्दा मनग्गे धन र विद्या प्राप्त हुनेछ। सप्ताहान्तमा खर्चिलो काम गर्नुपर्ने हुँदा कर्जाको रकम समेत लिनुपर्ला।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते-स्वास्थ्य कमजोर हुनुका साथै प्रारम्भमा केही समस्या देखापर्नेछन्। दुर्भावना राख्नेहरूले दुःख दिनेछन्। लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्ने हुँदा सावधान रहनुहोला। 

मिहिनेतीहरूलाई भाग्यले साथ दिनेछ। बुधबारपछि कर्मयोगले उचाइमा पुर्याउनेछ भने कीर्तिमानी कामको यश पनि प्राप्त हुनेछ। कर्मयोगले नयाँ मार्ग अवलम्बन गर्नेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ भने सम्मानित स्थान प्राप्त हुनेछ। दाम, इनाम वा पुरस्कार हातलागी हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु-प्रियजनसँगको भेटघाटले प्रारम्भ रमाइलो रहनेछ। व्यापारको सञ्जाल फराकिलो हुनेछ। व्यवसायका लागि यात्रा गर्ने साइत जुर्न सक्छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सोमवारदेखि स्थिति केही कमजोर बन्नेछ भने व्यवसायमा सोचेको फाइदा उठाउन नसकिएला। स्वास्थ्यमा पनि केही कमजोरी देखापर्नेछन्। 

मालमत्ता हराउने र अर्थ-अभावले सताउने समय छ। सप्ताहान्ततिर धार्मिक मनोवृत्ति बढ्नेछ भने सामाजिक कार्यमा धन खर्च गरिनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ। मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे=प्रारम्भमा प्रतिस्पर्धामा जुट्नुपरे पनि कर्मयोगले फाइदा दिलाउनेछ। प्रयत्न गर्दा अवसर हात पार्न सकिनेछ। समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन्। मिहिनेतले परिस्थितिलाई आफू अनुकूल बनाउन सकिनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित होला। 

बुधवारदेखि स्थिति केही कमजोर रहन सक्छ। चिताएको काम रोकिनाले मनमा खिन्नता बढ्नेछ। तापनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। यात्रा केही खर्चिलो भए पनि स्रोतसाधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। घरेलु काममा केही भने अलमल हुनेछ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि-स्वास्थ्यको चिन्ताले सताए पनि कर्मयोगले प्रतिष्ठा दिलाउनेछ। अध्ययन र व्यवसायले उचाइमा पुर्याउन सक्छ। आँटेका काम सजिलै सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू स्वत: सहयोगीका रूपमा देखापर्नेछन्। रोग र शत्रुमाथि विजय प्राप्त गर्ने समय छ। लक्ष्यअनुसार काममा राम्रै प्रतिफल प्राप्त हुनेछ।

 व्यापार र उद्योगमा फाइदा हुनेछ। आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले पनि उत्साह जगाउनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ काम थालनी हुनेछ। सप्ताहान्तमा भने केही चोटपटक र फजुल खर्च हुने योग छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द-प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। अरूलाई दिएको वचन पूरा गर्न नसक्दा समस्या पर्नेछ। आँटेका काम रोकिनुका साथै पारिवारिक समस्याले सताउन सक्छ। तापनि सोमवारदेखि स्थितिमा सुधार आउनुका साथै अध्ययनमा सफलता प्राप्त हुनेछ। 

व्यवसायमा पनि प्रगति हुनेछ। अघिको संघर्षले पछिल्लो समय लाभदायी रहनेछ। प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला, मिहिनेतले लाभ दिलाउनेछ। बलभन्दा बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सप्ताहान्तमा वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि-विभिन्न काम बानाले सुरुको दिन उत्साहवर्द्धक देखिए पनि यो साता केही उतारचढावमय रहनेछ। सोमबार र मंगलबार पारिवारिक असमझदारीले समस्या निम्त्याउन सक्छ। बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। चिताएको योजना गोप्य राखी अघि बढ्नुहोला। 

यो साता साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि प्राविधिक अनुभव बटुल्ने समय छ। कामको बोझ थपिए पनि सप्ताहान्तमा लक्ष्य प्राप्त गर्न सफल भइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय