महाधिवेशनको मुखैमा एमालेभित्र १९ जिल्लामा विवाद

काठमाडौं – नेकपा एमालेको १०औं महाधिवेशनका लागि ५८ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट कार्य सकिएको छ भने १९ जिल्लामा प्रतिनिधि छनोटमा विवाद देखिएको छ ।

विवादकै कारण १९ जिल्लामा आईतवार साँझसम्ममा प्रतिनिधि छनोट हुन सकेका छैनन् ।एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले ५८ जिल्लाका साथै जनसंगठन, विभाग तथा विशेष कमिटी तर्फका सबै प्रतिनिधि सहमतिमै चयन भएका जानकारी दिए ।

प्रतिनिधि छनोट हुन बाँकी जिल्लाको समेत सोमवारसम्ममा सकिने भट्टराईले बताएका छन् ।

विभिन्न ठाउँबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनोटका सूचना आइरहेका र कात्तिक ३० गते महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिएको छ ।

सदस्यता विवाद र प्रतिनिधि हुने नेताको संख्या बढी भएकाले कतिपय ठाउँमा निर्वाचनबाटै प्रतिनिधि छनोट भइरहेको हुँदा ढिलाइ भएको छ । एमालेले शनिवार देशैभर एकैदिन महाधिवेशन प्रतिनिधि छनोट सुरू गरेको छ ।

उदयपुरमा १, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका १/१ क्षेत्रमा निर्वाचन भएको छ । बाँकीमा सहमतिकै आधारमा प्रतिनिधि चयन भएका भएको छ । केही जिल्लामा सदस्यता विवाद समेत देखिएको जनाइएको छ ।

१ नम्बर प्रदेशको पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर, बाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर जिल्लामा प्रतिनिधि छनोट भइसकेका छ ।

उपत्यका विशेष कमिटीतर्फ पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, गण्डकी प्रदेशको गोरखा, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, मुस्ताङ र मनाङ, लुम्बिनी प्रदेशको गुल्मी, कपिलवस्तु, दाङ, प्युठान, अर्घाखाँची, पाल्पा, रुपन्देही, रुकुम, रोल्पा, बाँके र बर्दिया जिल्लामा पनि प्रतिनिधि छनोट भइसकेको छ ।

कर्णाली प्रदेशका हुम्ला, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, सल्यान, मुगु, कालिकोट, जुम्ला, र सुर्खेत, सुदूरपश्चिम प्रदेशको बझाङ, दार्चुला, बैतडी र डडेल्धुरामा प्रतिनिधि चयन कार्य सम्पन्न भएको छ भने कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया अझै जारी नै रहेको सचिव भट्टराईले बताएका छन् ।

नेकपा केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय सल्लाहकार परिषद्, जनसंगठन, प्रदेश कमिटीहरु, प्रदेश सम्पर्क कमिटीहरु र प्रवास समन्वय कमिटीका साथै पार्टीका केन्द्रीय विभागहरु र केन्द्रीय कार्यालयबाट प्रतिनिधि चयन सम्पन्न भइसकेका जनाइएको छ ।

कार्यालय सचिव तामाङले भने, ‘देशैभर एकैदिन महाधिवेशन प्रतिनिधि छनोट गर्ने कार्यक्रमअनुसार अधिकांश ठाउँमा सर्वसम्मत नै प्रतिनिधि छनोट भएका सूचना आएका छन् । केही ठाउँमा निर्वाचनबाट पनि प्रतिनिधि छनोट भएका छन् ।’

एमालेको १०औं महाधिवेशनमा १ हजार ९९९ प्रतिनिधि सहभागी हुँदैछन् । २६३ जना पदेन प्रतिनिधि रहेका छन् । १ हजार ७३६ प्रतिनिधि विभिन्न ठाउँबाट निर्वाचित भएर आउनुपर्ने तामाङले बताएका छन् । केन्द्रीय कमिटीका सबै र अनुशासन आयोगबाहेक अन्य ठाउँमा निर्वाचित हुनुपर्ने हुन्छ ।

आगामी मंसिर १०, ११ र १२ गते चितवनमा महाधिवेशन हँुदैछ । ललितपुरको गोदावरीमा हालै सम्पन्न भएको एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव जना गरी १५ जना पदाधिकारी सहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ ।

केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरी २१० जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको समेत चयन गर्नेछ । एकतिहाइ महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी गर्ने व्यवस्थामा विधान रहेको छ ।

एमालेले मंसिर १० गते नारायणी नदीको किरानामा उद्घाटन र सौराहामा नेतृत्व छनोटका लागि बन्दसत्र गर्ने तयारी गरेको छ । मंसिर ११ गते मनोनयन र प्रतिनिधिलाई ईभीएम मतदान गर्न अभ्यास र १२ गते मतदान हुने मूल व्यवस्थापन समितिका सदस्य एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय