विवेकशील साझा फूटको संघारमाः पाण्डे पक्षले नयाँ दल खोल्दै

काठमाडौं । विवेकशील साझा पार्टीमा विवादको गाँठो समाधान हुने अवस्था नदेखेपछि पार्टीका संयोजक मिलन पाण्डे पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगले अध्यक्ष रवीन्द्र मिश्र पक्षको निर्णयलाई आधिकारिता दिएसँगै पार्टीभित्र उनीहरु अल्पमतमा परेका छन् ।मिश्रले अघोषित रुपमा राजाको सर्वस्वीकार्यता, धर्मनिरपेक्षतामा जनमत संग्रह र संघीयता खारेजसहितको प्रतिवेदन प्रसतुत गरेपछि पाण्डे पक्ष चिढिएको थियो । पार्टीलाई प्रतिगमन तर्फ लगेको भन्दै उनीहरुले असन्तुष्टि जनाउँदै आएका थिए।

पाण्डे पक्षका एक नेताको दाबीअनुसार हाल विवेकशील साझा पार्टी सुदृढिकरण अभियान भनेर गठन गरिएका समिति नै नयाँ पार्टीमा परिणत हुनेछ । यसका लागि पाण्डे पक्षका नेताहरुबीच छलफल भइरहेको स्रोतले बतायो ।

नयाँ पार्टी दर्ताका लागि सम्भावित नामहरुबारे पनि छलफल भइरहेको स्रोतको दाबी छ । स्रोतका अनुुसार विवकेशील साझा अग्रगमनसहितका नाम छलफलका क्रममा प्रस्ताव गरिएका छन् ।

तर पाण्डे पक्षका सचिवालय सदस्य केशव दाहालले चाहिँ नयाँ दल दर्ता गर्नेबारे छलफल नभएको दाबी गरे । उनले अध्यक्ष मिश्र पक्षको वैकल्पिक राजनीतिक आन्दोलनप्रति निष्ठा नभएको बताउँदै भने, ‘पार्टीलाई वैकल्पिक बार्टी बनाउन, ठिक दिशा दिन पर्यत्न गर्छौं ।’

पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गर्ने एजेण्डासहितको दस्तावेज ल्याएपछि पार्टीमा वैचारिक ध्रुवीकरण देखिएको थियो ।

उनको प्रस्तावको विपक्षमा संयोजक पाण्डे, सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले वैकल्पिक राजनीतिको मूल बाटो शीर्षकमा नयाँ दस्तावेज सार्वजनिक गरेको थिए । त्यससता पार्टीमा दुई पक्षबीच समानान्तर गतिविधि चलिरहेका थियो ।

त्यहीबीच मिश्र पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा ९१ जना केन्द्रीय सदस्यको उपस्थिति देखिएको थियो । र, निर्वाचन आयोगले पनि मान्यता दिएपछि संयोजक पाण्डेले त्यसविरुद्ध अदालतसम्म जानसक्ने चेतानवनी दिएका थिए ।

अध्यक्ष मिश्रले आइतबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै सिटिजन्स डिसकसन फोरम र जनता दरबार पार्टीबीच एकता गर्ने निर्णय भएको बताएका छन् । तर पाण्डे पक्षका प्रवक्ता हरिशप्रसाद भट्टले विज्ञप्ति जारी गर्दै अध्यक्ष मिश्रको निर्णयलाई प्रतिक्रियावादीहरुको गठजोड भनेका छन् ।

यद्यपि पाण्डे पक्षका गण्डकी प्रदेशका १२ नेताहरुले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले पनि यसै नयाँ पार्टीमा आवद्ध हुने सक्ने जनाइएको छ ।- ज्योतिन्यू

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय