कांग्रेस हार्नुको कारण केलाउँदै हुकुम राईले गरे कांग्रेस जिल्ला सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेस ओखलढुंगाका युवा नेता हुकुम राईले १३औं महाधिवेशनअन्तर्गत ओखलढुंगामा हुने जिल्ला अधिवेशनमा कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस हार्नुको कारणबारे सामान्य मन्थन गर्दै नेता राईले कांग्रेसलाई बलियो बनाउन आफू उम्मेदवार बनेको जनाएका छन् ।‘

मेरो आत्माले भन्छ र सत्य पनि त्यही हो – ओखलढुंगामा कांग्रेस चुनावमा पराजय हुनुमा लोकतान्त्रिक पद्धतिलाई मन नपरेर कम्युनिस्ट शासनलाई मन परेको हुँदै होइन ।

मलाई अझैसम्म विश्वास छ – ओखलढुंगामा लोकतन्त्र प्रेमीको संख्या बाहुल्य छ । त्यसैले कांग्रेसको जीत सुनिश्चित छ तर हरेक कांग्रेसले त्यो विभिन्न पात्रहरूबाट विभिन्न समयमा र परिस्थितिमा भएको हरेक गल्तीहरूलाई स्वीकार्दै केलाएर, सच्याउन जरुरी छ,’ युवा नेता राईले उम्मेदवारी घोषणा गर्दै भने ।

सिलाएर वा टालेर जे जसरी हुन्छ त्यसरी नै मिलाएर कांग्रेस ओखलढुंगाको संगठन दुरुस्त पार्नुपर्ने नेता राईको भनाइ छ । ‘त्यो संगठनको एक सच्चा सिपाही भएर काम गर्ने ठूलो रहर छ । त्यसैले १४औं महाधिवेशनमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यको उम्मेदवारी घोषणा गरेको छु ।’

उनले अगाडि भनेका छन्, ‘तपाईंहरूलाई लाग्दो हो यो फुच्चे कसरी उम्मेदवार भयो । त्यसैले मैले भन्न आवश्यक ठानें, म १३औं अधिवेशनदेखि नियमित बुथ प्रतिनिधि छु ।

२०७० सालको संविधान सभाको निर्वाचन र २०७४ सालको आमनिर्वाचनमा शुरूदेखि अन्तिमसम्म उम्मेदवार लगायत सम्पूर्ण प्रचार टीमसँगै प्रचारप्रसारमा थिएँ र संविधानसभा सदस्य रामहरि खतिवडाको स्वकीय सचिव भएर अहिलेसम्म पनि उहाँकै सचिवालय हेर्दैछु ।

मलाई पूरा आशा छ – तपाईंहरूले आफ्नो अमूल्य मत दिएर त्यो मौका तपाईंहरूले मलाई दिनु हुनेछ । जय नेपाल !’- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय