कांग्रेसको केन्द्रीय सभापति बन्न मैदानमा यी १० नेता, गुटहरूभित्र उथलपुथल

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले फेरि पनि महाधिवेशनको कार्यतालिका परिवर्तन नगरे आजको १ महिनापछि नयाँ नेतृत्व पाउने छ ।

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न मंसिर २४–२६ गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन तय गरिएको छ ।कांग्रेसभित्र केन्द्रीय नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला हुँदै युवा नेता कल्याण गुरुङसम्म अगाडि सरेका छन् ।

सभापतिका लागि देउवाले नै नेतृत्व गर्दै आएको हालको संस्थापन समूहबाट मात्रै ३ जना आकांक्षी देखिएका छन् ।

देउवालाई हालका उपसभापति विमलेन्द्र निधिले चुनौती थपेका छन् भने नेता गोपालमान श्रेष्ठ समेत मैदानमा उत्रिने संकेत गरिरहेका छन् । ३ उम्मेदवार हुँदा कांग्रेसभित्रको संस्थापन समूहमा विभाजनको अवस्था देखिएको छ ।

संस्थापनइतर गुटबाट वरिष्ठ नेता पौडेलसँगै हालका महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर केइराला र नेत्री सुजाता कोइरालाले सभापतिमा दाबी गरिरहेका छन् । पौडेल गुटभित्र समेत एकल उम्मेदवार बन्ने अवस्था छैन ।

१३औं महाधिवेशनबाट तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता सिटौलाले समेत यस पटक आफू टीम बनाएरै मैदानमा उत्रिने घोषणा गरेका छन् ।

सिटौलाले भने, ‘म पार्टी नेतृत्वका लागि टीमसहित मैदानमा होमिने तयारीमा छु ।’युवा नेता गुरुङले समेत पार्टीलाई नयाँ तरिकाबाट अघि बढाउन आवश्यक रहेको भन्दै पुरानो शैलीले अब पार्टी नचल्ने र सभापतिमा उठ्ने घोषणा गरेका छन् ।

महाधिवेशनमा होमिएको कांग्रेसको नेतृत्वका लागि सभापति देउवालाई आफ्नै समूहबाट अप्ठ्यारो पर्ने अवस्था बन्दै गइरहेको छ भने इतर गुटमा पनि एकले अर्कालाई स्वीकार्ने अवस्था देखिँदैन ।

केही दिनअघि पूर्व महामन्त्री सिंहले देउवा र पौडेलबाट पार्टी नचल्ने र उनीहरुले पार्टीलाई नेतृत्व दिन नसक्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

कांग्रेस उपसभापति निधि, महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंहबीच मिलेर अघि बढ्ने विषयमा चरणवद्ध रुपमा आलोपालो गरी एकअर्काको निवासमा छलफल समेत हुँदै आएको छ । यसरी हेर्दा अबको महाधिवेशनमा कांग्रेसभित्रको पुराना गुट भत्कने र नयाँ समूहबीचमा समीकरण बन्ने अवस्था देखिँदै गएको छ ।

कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको छ भने १३ जिल्लामा जिल्ला तहको नेतृत्व समेत छानेको छ । बाँकी १३ जिल्लाको वडा अधिवेशन कांग्रेसले भोलि शनिवार गर्दैछ ।

कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवारहरु मैदानमा रहेका छन् ।

कांग्रेसको गत १३औं महाधिवेशनमा देउवा, पौडेल र सिटौलाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा नेतृत्व चयन नभएपछि सिटौला बाहिरिएका थिए भने दोस्रो चरणमा सिटौलाले देउवालाई साथ दिएपछि देउवा पौडेललाई हराउँदै सभापति बनेका थिए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय