नेकपा एमालेको मुसिकोट अधिवेशनः सहमतिको प्रयास जारी

गुल्मी । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज मंगलबार देशभर पालिका अधिवेशन आयोजना गरेको छ । गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गरिएको हो ।

पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ तथा उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ । जस अनुसार देश भर अधिवेशन चलिरहेको छ । केही पालिकाहरुमा सहमति भइसकेको छ भने केहीमा अझै पनि सहमति हुने क्रम जारी छ । देशभरको अधिवेशनको अपडेट आउने क्रम जारी छ ।

गुल्मीको मुसिकोट नगरपालिकामा यतिबेला सहमतिको प्रयास जारी छ । अध्यक्ष, सचिव, सहसचिव लगायतका मुख्य पदहरुमा धेरै जना आकांक्षी भएको कारण सहमतिको पहल जारी रहेको मुनपा ७ का वडाध्यक्ष समेत रहेका नगरसचिव प्रकाश काफ्लेले बताए ।

उनले अब एक घण्टा भित्रमा सर्वसम्मतीमै नेतृत्व चयन हुने बताए । दिउँसो खुला सत्रको कार्यक्रम भएको थियो । अधिवेशनमा उपस्थित पार्टी कार्यकर्ताहरु लाई प्रशिक्षण दिनको लागि पार्टी प्रवक्ता प्रदीप ज्ञावली आएका थिए ।

त्यस्तै लुम्बिनी प्रदेशका सांसद खड्ग बहादुर केसी, मुसिकोटका मेयर तथा एमाले जिल्ला सचिव सोमनाथ सापकोटा लगायतका नेताहरु कार्यक्रममा उपस्थित थिए । उनले रुद्रावती बहुमुखी क्याम्पसमा आयोजना गरिएको प्रथम नगर अधिवेसन मा विशेष सम्बोधन गरेका थिए ।

एमालेले नगर अधिवेशनलाई भब्य तथा सभ्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन समेत गरेको थियो । एमालेले यसअघि नगरपालिकाका ९ वटै वडाहरुमा अधिवेशन सम्पन्न गरिसकेको छ । वडा नं १ मा सम्पन्न अधिवेशनबाट अध्यक्षमा नारायण बहादुर थापा र सचिवमा भुपेन्द्र रायमाझी सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै वडा नं २ मा हरि बहादुर कुँवर अध्यक्ष टिका थापा सचिव, वडा नं ३ मा मधु मल्ल अध्यक्ष र सचिवमा अशोक सोमै सर्वसम्मत चयन भए। वडा नं ४ मा जुक्त बहादुर छन्तेल अध्यक्ष, उपाध्यक्षमा ओम बहादुर केसी र राजेश अधिकारी सचिव चयन भएका छन् । त्यस्तै वडा नं ५ मा चन्द्र खरेल अध्यक्ष र राजेश गुरुङ सचिव, वडा नं ६ मा हेमराज शर्मा अध्यक्ष, वडा नं ८ मा चुरा बहादुर खत्री अध्यक्ष र चन्द्र बहादुर घर्ती सचिवमा सर्वसम्मत चयन भए ।

त्यसै गरी वडा नम्बर ७ को अध्यक्षमा टोप बहादुर शाक्य, उपाध्यक्षमा श्री कृष्ण सापकोटा, सचिबमा लक्ष्मण प्रसाद खरेल,सह सचिबमा भोजराज सापकोटा र सर्मिष्ठा शाक्य, वडा नं ९ मा उमाकान्त खरेल अध्यक्ष र सचिवमा कर्ण बहादुर विक चयन भएका छन् ।

वडा अधिबेशनबाट आगामी २ वर्षका लागि ३१ जनाको कमिटी निर्वाचत भएको छ । कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरि ५ जनाको पदाधिकारी निर्वाचित भएका छन् । वडा अबिधेशनमा ५ जना संगठित सदस्य बराबर १ जना गाउँ÷नगर प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको छ ।

त्यस्तै दलित÷महिला÷जनजातीको हकमा ३ जना संगठित सदस्य बराबर १ जना प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको एमाले नगर सचिव काफ्लेले जानकारी दिए । असोजमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानअनुसार अधिवेशन भइरहेका हुन् । एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा १०औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।

ज्ञावलीले भने – प्रचण्ड अस्थिरताको खेलाडी हुन्- नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिरताको खेती गर्ने खेलाडीको रुपमा व्यङ्ग्य गरेका छन् ।

एमाले रेसुंगा नगरकमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै ज्ञवालीले आफ्नो स्वार्थको लागि प्रचण्डले दलका नेतालाई मन्जन जस्तै प्रयोग गर्ने र थुक्ने गरेर अस्थिरताको खेती गरिरहेको आरोप लगाए । ‘प्रचण्डले जनताको रगत र शरीरमा रहेका छर्रा बिर्सेर सत्ताको लागि जे पनि गर्छन् । अहिले कांग्रेसको पाहुना बनेका छन्,’ उनले भने, ‘अपवित्र गठबन्धप्रति जनताको केही आश छैन ।’

त्यस्तै उनले एमालेको भोट लगेर कांग्रेसलाई चढाउने माधव नेपालसहितका नेताको कारण पार्टीको आन्तरिक जीवनमा केही असहजता आएपछि आफूहरु प्रतिपक्षमा बसेर पनि जनताकै पक्षमा काम गरिरहेको बताए ।

उनले उच्चस्तरीय सम्झादारीसहितको सर्वसम्मत कमिटी चयन गर्न शुभकामना व्यक्त गरे । अहिले दल, अदालत, निर्वाचन आयोग र सभामुखजस्ता संस्थाबाटसमेत घेराबन्दीमा परेकाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउन सर्वसम्मत कमिटी निर्माणसँगै संगठन गतिशील बनाउन, पार्टीका विचार र सिद्धान्त जनता माझमा पुर्‍याएर नागरिकसँगको सम्बन्ध थप सुदृढ बनाउन ज्ञवालीले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

देशमा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने पार्टी एमाले भएको दाबी गर्दै उनले विधान महाधिवेशनसहित देशभर वडा र पालिकाको अधिवेशन एकै साथ सम्पन्न गरिरहेको बताए । उनले आज नै मुसिकोट नगरकमिटीको अधिवेशन पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गुल्मीका १० गाउँकमिटी र २ नगरकमिटीको प्रथम अधिवेश एकैसाथ सुरु भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय