यी हुन् एमालेकी कान्छी वडाध्यक्ष तारमिला राई

नेकपा (एमाले)को भर्खरै सम्पन्न वडा अधिवेशनबाट नेतृत्वमा आएका खोटाङका युवा समाजसेवा गर्न राजनीतिमा लागेको बताउँछन्।

२५ वर्षीया तारमिला राई एमालेको हलेसी तुवाचुङ नगरपालिका-३ का वडाध्यक्ष बनेकी छन्। चार वर्षअघि वडा सदस्य भएर एमालेमा सक्रिय उनी यस पटक सर्वसम्मत वडाध्यक्ष बनेकी हुन्। बन्द सत्रमा नेतृत्वका लागि व्यापक छलफल भए पनि उनको नाममा सर्वसम्मति जुटेको युवा संघ खोटाङका अध्यक्ष रसकुमार राई बताउँछन्। उनको नाम प्रस्ताव हुँदा सबैले ताली बजाएर स्वागत गरेको रसकुमारले बताए।

वडास्तरका पुरुष नेता तथा कार्यकर्ताले पनि उदारता देखाए। सो वडा अधिवेशनले जिल्लामै महिलालाई नेतृत्वमा अघि मात्र सारेन, ३१ सदस्यीय वडा कमिटीमा सबै महिला नै महिला राख्न सहमति जुटाएको छ।

नवनिर्वाचित वडाध्यक्ष राईको क्षमतामा सबैको विश्वास रहेको नेताहरू बताउँछन्। “जिल्लाभरि हाम्रो वडामा मात्रै महिला नेतृत्वमा आउनुभएको छ,” युवा संघ अध्यक्ष रसकुमारले भने, “महिलाको क्षमतामा विश्वास गर्नुपर्छ भन्ने उदाहरण दिएका छौं।”

वडा कमिटी उपाध्यक्षमा कमलकुमारी राई, सचिवमा सम्झना राई, उपसचिवमा अस्मिता राई र प्रेमकुमारी विक चयन भएका छन्।वडामा पार्टीलाई मजबूत बनाएर पहिलो पार्टी बनाउन बल गर्ने तारमिलाको भनाइ छ। “समाजसेवा गर्न राजनीतिमा आएकी हुँ,” उनले भनिन्।

दाङमा एमालेका पाँच महिला वडाध्यक्ष

गत शनिबार सम्पन्न भएको नेकपा (एमाले)कोे १०औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा यहाँ पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् ।

जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष भएकी छिन् । उनी बबई– ७ को वडा सदस्य र गाउँपालिकाको कार्यपालिका सदस्य छिन् ।त्यस्तै दङ्गीशरण गाउँपालिका–१ को अध्यक्षमा ३६ वर्षीया दिलकुमारी पुन सर्वसम्मतरुपमा चयन भएकी छिन् ।

घोराही उपमहानगरपालिका–१ को अध्यक्षमा टोपाकुमारी पौडेल सर्वसम्मत निर्वाचित भएकी छिन् । उनी वडा सदस्य र उपमहानगरपालिकाको कार्यपालिका सदस्य पनि छिन् ।त्यस्तै घोराही–४ मा लीला गोतामे अध्यक्ष भएकी छिन् । गोतामे निर्वाचित वडा सदस्य हुन् । गढवा गाउँपालिका– ४ मा सीता थापा वडाध्यक्ष भएकी छिन् । थापा रेडक्रसकर्मीसमेत हुन् ।

एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काले यसपटकको वडास्तरको अधिवेशन ऐतिहासिकरुपमा सम्पन्न भएको बताए ।त्यस्तै उनले अधिवेशनमा अधिकतम महिलालाई ३३ प्रतिशत नघट्ने गरी प्रत्येक कमिटीमा समावेश गरेको जिकिरसमेत गरे ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट दाङमा भने एक महिला वडाध्यक्षमा निर्वाचित भएकी छिन् । शान्तिनगर गाउँपालिका–३ की पार्वती पुन वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय