काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायधिश चोलेन्द्र शमरेर राणाले तोकेको इजालास बहिष्कार गरी सामूहिक छलफलमा जुटेका छन् ।
विवादास्पद बनेका प्रधानन्यायाधीश जबराले नियमित जस्तै पेशी तोकी आफू बाहेकका न्यायाधीशको इजलास तोकेका थिए । तर न्यायाधीशहरु भने इजलासमा नगएर सामूहिक छलफलमा जुटेका हुन् । प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा नजाने निर्णय गरेको न्यायाधीशहरुले इजलासमा बस्ने नबस्ने बारे बैठकमा छलफल गरिरहेका छन् ।
प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा आज फुलकोर्ट बोलाएका थिए । यद्यपि फुलकोर्ट बस्ने या नबस्ने अन्योल छ ।
आज इजलास बस्ने सम्भावना पनि देखिएको छैन ।सोमबार प्रधानन्यायाधीशसहित १३ जना न्यायाधीश सर्वोच्चमा उपस्थित छन् । न्यायाधीशहरु इजलासमा नगई बैठकमा बसेपछि वकालतका लागि पुगेका वकिलहरु भने पर्खिरहेका छन् । सोमबार घर बिदामा रहेका कारण न्यायाधीश कुमार चुडाल अदालत उपस्थित छैनन् ।
यस्तै सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा खप्तड घुमघाममा छन् । न्यायाधीश ईश्वर खतिवडा अमेरिका, तेजबहादुर केसी घर बिदामा र नहकुल सुवेदी बिरामी भएका कारण अदालतमा उपस्थित छैनन् । सोमवारको बैठकमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा। आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा सहभागी रहेका छन् ।
सर्वोच्चमा सोमवार हाजिर भएका प्रधानन्यायाधीश बाहेकका सबै न्यायाधीश बैठकमा सहभागी रहेको स्रोतले जनायो । प्रधानन्यायाधीश जबराले ७ वटा इजलास तोके पनि सुनुवाइ शुरू हुन सकेको छैन् । सरकारमा भागबण्डा खोजेको लगायतका विभिन्न विषयमा असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायाधीशले निकास दिनुपर्ने बताउँदै आएका छन् ।
राणाको विपक्षमा उभिएका १४ न्यायाधीशले आइतबार नै चियापछि इजलासमा तोकेको मुद्दा बहिस्कार गरेका थिए । उक्त निर्णय आज पनि निरन्तर रहने उनीहरुले बताएका छन्। आज इजलास सुरु हुनु अघि छलफल गर्ने अनि निर्णयमा पुग्ने सहमति आइतबार न्यायाधीहरुले गरेका थिए। राणाले आजका लागि बोलाएको फुलकोर्टको बैठकमा सहभागी नहुने निर्णय न्यायाधीशहरुले गरेका छन्।