गोरखामा देखियो गगन थापाको चमत्कार !

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनबाट गोरखा जिल्लाको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् ।

सोमबार भएको जिल्ला अधिवेशनको उम्मेदवारी दर्तामा सभापति पदमा न्यौपानेले मात्रै उम्मेदवारी दिएपछि उनी निर्विरोध भएका छन् । उम्मेदवारी दर्ता गर्दा न्यौपानेको प्रस्तावक गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र समर्थक राजेन्द्र बजगाईं रहेका थिए ।

सभापतिमा निर्वाचित भएका ४३ वर्षका न्यौपाने कांग्रेस केन्द्रीय सदस्य गगन थापानिकट रहेका छन् । गगन थापाले महासचिवमा उम्मेदवारी घोषणा गरिसकेका बेला विभिन्न जिल्लाबाट थापा पक्षको प्यानलले जित हात पारिरहेको छ ।

न्यौपानेलाई जिल्ला सभापति बनाउन गोरखाका ११ वटै स्थानीय तहका पार्टी सभापतिहरुले हस्ताक्षर नै गरेका जनाइएको छ ।सभापति न्यौपाने यसअघि कांग्रेस गोरखाको सचिव रहेका थिए । न्यौपानेले नेविसंघ गोरखा सभापतिमा २ कार्यकाल रहेर समेत काम गरेका छन् ।

न्यौपानेले आइतबार भएको महाधिवेशन प्रतिनिधिको चुनावमा गोरखा प्रतिनिधिसभा १ नम्बर क्षेत्रबाट सबैभन्दा धेरै मत समेत ल्याएका थिए । न्यौपाने लामो समयदेखि गोरखामा रहेर संगठन विस्तारमा क्रियाशील नेता हुन् ।

गोरखामा उपसभापति, सचिव, सहसचिव, सदस्यलगायत पदमा भोलि मंगलवार बिहान ८ बजेदेखि निर्वाचन हुने भएको छ । यी सबै पदमा २ जनाभन्दा धेरैले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय