जति पैसा पेलेपनि चुनाव जित्न नसकिने भैयो: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जति पैसा खर्च गरेपनि चुनाव जित्न नसकिने अवस्था आएको बताएका छन् ।

बिहीबार काठमाडौंमा अनेरास्ववियु क्रान्तिकारीको २२औँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरूसँग भन्दा अरुसँग नै पैसा धेरै भएको र खर्च गर्दा पनि चुनाव जित्न सक्ने अवस्था नरहेको बताएका हुन् । ‘चुनाव जित्न पनि चार–पाँच करोड पैसा खर्च गर्नुपर्ने भयो ।

त्यति खर्च गर्दा पनि जित्न सक्ने अवस्था छैन किनभने हामीसँग भन्दा अरुसँग नै पैसा बढीछ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले अब पैसाबिना चुनाव लड्ने सक्ने अवस्था नभएको पनि बताए । ‘सामान्य गाउँपालिकामा लड्न पनि १० देखि ५० लाख, प्रदेशमा लड्दा एकदेखि दुई करोडसम्म र केन्द्रमा लड्न चारदेखि पाँच करोड पैसा चाहिने भयो ।

यस्तो हुँदा हामी चुनाव लड्न नसक्ने भयौं,’ उनले भने । उनले पहिलो संविधानसभाको निर्वाचन बिनापैसा जितेको पनि स्मरण गरे । ‘०६४ को चुनावमा हामीले पैसा खर्च गरेकै होइन । बिना पैसा हामीले चुनाव जितेका थियौं,’ उनले भने, ‘उठेको पैसा पनि हामीले बचत गरेका थियौं ।’

अध्यक्ष प्रचण्डले पार्टीलाई पैसा दिने कोही नभएको र पैसा माग्ने मात्रै हावी भएको बताए । ‘अध्यक्षको अहिले हालत खराब भएको छ । अध्यक्षबाट पैसा माग्ने बढेका छन् तर पार्टी र अध्यक्षलाई पैसा दिने कोही छैनन्,’ उनले भने ।

अध्यक्ष प्रचण्डले आफ्नै पार्टीको अध्यक्षले प्रतिक्रान्ति गरेर संसद विघटनमा गएपछि आफू भगत सिंहको पालाको चन्द्रशेखरजस्तै आत्महत्या गर्ने कि भन्ने मोडमा पुगेको बताए ।

सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्ड पटक(पटक भक्कानिँदै रुन खोजे । उनले भगत सिंहको फिल्ममा रहेको पात्र चन्द्रशेखर दुश्मनको घेरामा परेपछि अन्तिममा माटो समातेर ‘क्रान्तिको लागि यति नै गर्न सकेँ’ भन्दै आत्महत्या गरेको प्रसंग सुनाउँदै आफू पनि त्यस्तै मोडमा पुगेको बताए ।

प्रचण्डले भक्कानिँदै भने, ‘क्रान्तिको ऋण त मेरै शीरमाथि थियो । म यस्तो मोडमा पुगेँ कि प्रतिक्रान्तिसँग आत्मसर्पण गर्नुभन्दा त आत्महत्या गर्नु ठीक हो । आत्महत्या भनेको चाहिँ सबै गलत हुँदैन है साथी हो माक्र्सका ज्वाइँ छोरीहरुले सुसाइड गरेको कथा तपाईहरुले पढ्नुभयो होला । सुसाइड सबै गलत हुँदैनन् । म पनि मर्ने कि लड्ने भन्ने दुई विकल्पमा थिएँ । तर, हामी सबै साथीहरुले सल्लाह गरेर फेरि लड्ने,जेल जानुपर्छ जाने,मारिनु पर्छ भने पनि त

यार हुने भनेर प्रतिक्रान्तिको अगाडि हरहालतमा नझुक्ने भन्ने संकल्पबाट सुरू भयो पुस ५ पछिको आन्दोलन ।’

प्रचण्डले समाजवादी क्रान्तिका लागि सानोतिनो सुधारले मात्रै नहुने भन्दै समाजवादी क्रान्ति र रुपान्तरणका लागि ठूलै छलाङ मार्नुपर्ने बताए । ‘समाजवादी क्रान्तिको निम्ती एउटा नयाँ रुपान्तरणको निम्ती सानोतिनो सुधारको तरिकाले हुदैन । राम्रै छलाङ हान्नुपर्ने स्थिति छ । विद्यार्थीहरुको यो सम्मेलन त्यो दिशातिर जाने पाइला हुनसक्छ’, प्रचण्डको भनाइ छ । उनले विचारको राजनीतिलाई विकसित गर्दै अघि बढ्नुपर्ने भन्दै उनले क्रान्तिकारीका लागि यो अन्तिम अवसर पनि हुनसक्ने बताए ।

‘हामीले आँट गर्दा, बल गर्दा परिवर्तन सम्भव छ’, प्रचण्डको भनाइ छ । उनले हामी नभएपनि अर्कोले गर्छ भनेर सन्तोष गर्ने स्थिति नभएको भन्दै अरुले गरे प्रतिक्रान्ति गर्ने र देश दुर्घटनामा पर्ने दावी गरे । प्रचण्डले पहिले गलत गर्नेहरुका लागि वाईसीएल आतंक भएको र अहिले प्रतिगमनका पक्षपाती केपी ओली आतंक रहेको बताए ।

‘अहिले त केपी ओली आतंक छ । जसले गणतन्त्र रोक्न पहल गर्यो त्यसको पो आतंक छ, के यो अचम्म भयो ?’प्रचण्डको प्रश्न छ ।- ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर