ओलीको सम्पादकहरूसँगको अन्तरक्रिया किन गरे ? यस्तो छ दिन खोजेको सन्देश !

काठमाडौं – बालुवाटारबाट बालकोट पुगेपछि एमाले अध्यक्ष केपी ओलीको दम्भको पारा हल्का ओरालो लागेको देखिएको छ ।

सरकारबाट बाहिरिएपछि ओलीले पहिलोपटक मंगलबार विभिन्न मिडियाका सम्पादकसँग अन्तरक्रिया गरे । त्यसक्रममा उनले मिडियाले अहिलेको सरकारको खबरदारी नगरेको भन्दै आक्रोश व्यक्त गरे ।जतिबेला उनी प्रधानमन्त्रीका रूपमा बालुवाटारमा थिए, त्यसबेला मिडियामा सरकारको कामको आलोचना हुँदा उनी निकै आक्रोशित हुन्थे ।

आफ्नो सरकार, आफू र राष्ट्रपतिका विषयमा मिडियाले चाहिने नचाहिने लेखेको भन्दै पत्रकारको हुर्मत लिएका थिए ।तर, अहिले तिनै ओलीलाई मिडियाको सहयोग चाहिएको छ । मिडियाको तागतबारे बल्ल उनको घैंटोमा घाम लागेको छ ।

वर्तमान सरकारले अध्यादेश ल्याएर एमाले फुटाएर फेरि फिर्ता गरे पनि कुनै पनि मिडियाले समाचार नलेखेको भन्दै उनले सम्पादकहरूसँग गुनासो पोखे ।

जबकि अहिले पनि मिडियाले आफ्नो धर्म छाडेका छैनन् । निरन्तर सरकारको खबरदारी गरिरहेका छन् । उनले समाचार नहेरेको हो कि आफ्नो सरकारको मात्र खबरदारी र आलोचना गरेकोमा रिस पोखेका हुन् ? त्यो भने उनी नै जानून् ।

एमालेको पहिलो विधान महाधिवेशन आगामी असोज १५–१७ मा ललितपुरको गोदावरीमा हुँदैछ । विधान र महासचिवको राजनीतिक प्रतिवेदनमा ओलीले आफू पुनः एमाले अध्यक्ष बन्ने आधार तयार बनाइसकेका छन् ।

त्यसैले मंगलबार ओलीले सम्पादकहरूलाई बोलाएर आफू पुनः एमाले अध्यक्ष बन्न लागेको सन्देश सबैलाई दिएका छन् । उनले उदाहरण पनि गज्जबको दिए । प्रधानसम्पादक भइसकेपछि पत्रकारले प्रधानसम्पादक र पत्रकारिता छाड्छ र ? भन्ने प्रश्न गरे । फेरि उनले अर्को उदाहरण दिए– महाविद्यावारिधि गरिसकेपछि फेरि महाविद्यावारिधि गर्ने हो ।

यसबाट पनि ओलीमा अझै एकपटक पार्टीको अध्यक्ष बन्ने लालसा जागेको स्पष्ट हुन्छ । एमालेमा माधवकुमार नेपाल जस्ता नेता नभएकाले ओलीले फेरि एकपटक अध्यक्षमा कसैलाई पनि ढिम्किनै नदिने स्पष्ट छ ।

सो सन्देश उनले मंगलबार पार्टीका ईश्वर पोखरेल, विष्णु पौडेल, भीम रावल, सुवासचन्द्र नेम्वाङहरूलाई दिइसकेका छन् ।- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर