एमाले शिर्ष नेताहरुलाई लाग्यो झड्का ?

काठमाडौँ– नेकपा एमालेमा ७० वर्षे उमेर हद कायम रहने भएको छ ।

यही असोज १५–१७ सम्म काठमाडौँमा हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनको मस्यौदामाथि केन्द्रीय कमिटीमा भएको छलफलमा उमेर हद कायम राख्नुपर्ने सुझाब आएको छ । सो महाधिवेशनले उमेर हदबारे निर्णय नगरे यसअघिकै व्यवस्था अनुसार उमेर हद कायम रहने भएको हो ।

उमेर हदले हाल एमालेको शीर्ष तहमा रहेका धेरै नेतालाई पार्टीको ११ औँ महाधिवेशनपछि कार्यकारी पदमा रहन प्रतिबन्ध लगाउने छ । एमालेको विधानमा ७० वर्षमाथि उमेरका नेता कार्यकारी पदमा बस्न नपाइने व्यवस्था छ ।

उपमहासचिब विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथि सुझवा दिएका १० वटै समूहका नेताहरुले उमेर हद कायम राख्ने सुझाब दिएको पार्टी सचिब तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

शनिबार शुरु भएको बैठक शनिबार सकिने भनिए पनि बैठकमा प्रस्तुत तीनवटा प्रस्तावमा १० वटै समूहबाट व्यापक परिवर्तनको सुझाब आएपछि आइतबार पनि बैठक बस्ने भएको छ ।

शनिबारको बैठकमा उमेर हद कायम राख्ने, पदाधिकारी बढाउने, कार्यकारी पदमा दुईपटकभन्दा धेरै बस्न नपाइने लगायतका सुझाब आएको भट्टराईले जानकारी दिए । उनले भने, ‘प्रादेशिक संरचनामा देश भएकाले सोही अनुसार पदाधिकारी पनि राख्नुपर्छ भन्ने सुझाब आएको छ ।’

आइतबार अध्यक्ष केपी शर्मा ओली र सुझाव पेश गर्न बनाइएका १० वटै समूहका समूह नेताबीच छलफल गरेर महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिइने भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय