एमालेमा फेरी भाँडभैलोः तेस्रो धारका नेताहरुले दिए बैठक बहिष्कार गर्ने चेतावनी

काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति पालना नभएपछि फेरी भाँडभैलो सुरु भएको छ ।

असार २७ गते कार्यदलले तयार पारेको १० बुँदे सहमति पालना गर्ने सहमति अनुरुप एमाले छोडेका माधव कुमार नेपालसँगको सम्बन्ध तोडेका तेस्रो धारका नेताहरुले फेरी बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।एकता प्रस्तावको अक्षरश पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन् ।

नेकपा एमालेले शुक्रवार केन्द्रीय समिति बैठक बोलाएको थियो । सो बैठकमा तेस्रो धार भनिएका एमाले नेता झपट रावलले दश बुँदे सहमति किन पालना नभएको भनेर प्रश्न सोधेका थिए ।

शुक्रबारको एमाले बैठकमा तीनवटा दस्तावेजमा समूहगत छलफल गर्न आठवटा समूह बनाइएको छ । तर तेस्रो धारका १० नेता निकटका केन्द्रीय सदस्यहरुले एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पस्ट नभएसम्म कुनैपनि बैठकमा सहभागी नहुने बताएका हुन् ।

साथै उनीहरुले तेस्रो धारको नेतृत्व गरेका १० जना नेताहरुलाई पनि बैठकमा सहभागी नहुन दवाव दिइरहेका छन् । झपट रावल, भानुभक्त जोशी लगायतका नेताहरुले यस्तो दवाव दिएपछि तेस्रो धारका नेता घनश्याम भुसालले समेत आफु निकटका नेताहरुले अघि सारेको माग जायज भन्दै त्यसबारे स्पस्ट नभएसम्म बैठकमा सहभागी नहुने आफु निकटका नेताहरुलाई बताएका छन् ।

असन्तुष्ट नेताहरु समूहगत छलफलमा सहभागी नहुने र १० बुँदेको कुरा उठेपछि बैठकस्थल बाहिर उपाध्यक्ष समेत रहेका तेस्रो धारका नेता भीम रावल र ओली निकट मानिएका सचिव प्रदीप ज्ञवालीबीच छलफल भएको छ । एमालेमा तेस्रो धारका नेताहरुमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय