काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको हो । अब सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउन बाटो खुलेको छ ।बिहीबार बैठक सुरु हुनेवित्तिकै सदाझैं एमाले सांसदहरु संसदको वेल घेरेर नाराबाजी गरेका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारबाही अघि बढाए ।
उनले अर्थमन्त्री जनार्दन शर्मालाई अर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पेश गर्न अनुमति दिए र निर्णयार्थ पनि पेश गरे । उनले विधेयक बहुमतले पारित भएको घोषणा गरे ।
विधेयक पारित भएपछि प्रतिनिधिसभाको बैठक असोज ११ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।- अनलाइनखबर
यो पनि पढ्नुहोस् –काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद (जबज)लाई आत्मसात गर्न चाहेको बताएका छन्।
अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
पार्टीनिकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरूको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढ्ने पनि बताए।
अध्यक्ष नेपालले माओ, होचिमिन्हजस्ता नेताहरुले विश्व कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
‘जनताको बहुदलीय जनवादीलाई हामीले आत्मसात गर्न चाहन्छौं। र त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौं, उनले अगाडि भने, ुचीनमा माओ, देङसेवापिङ जस्ता नेताहरु जन्मे। त्यसैगरी, भियतनाममा होचिमिन्हलगायतका नेताहरूले कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाए। हामीकहाँ पनि पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी तुलसीलाल जस्ता योद्धाहरु देखा परे। ती सबै योद्धाहरुप्रति हामी गौरव बोध गर्दछौं। उहाँहरुको जीवनबाट प्रेरणा लिएर हामी अघि बढछौं।’
अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी दिने कामलाई जोड दिने बताए। उनले त्यसका लागि आफूलाई दक्ष बनाउने गरी प्रशिक्षित हुन पनि आफूनिकट पार्टीका युवा संघका नेता, कार्यकर्तालाई सचेत पनि गराए। अध्यक्ष नेपालले पार्टीमा आवद्ध युवाहरुले सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।