प्रदेश १ र वाग्मतीमा छिट्टै हाम्रो सरकार बन्छ, नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश १ र बागमती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको भन्दै स्वागत गर्नको निम्ती तयार रहन समेत आग्रह गरे ।

उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी ठूलो भएको र कर्णाली तथा प्रदेश २ मा पनि पार्टीको राम्रो उपस्थिती रहेको भन्दै नेताहरुलाई धन्यवाद तथा बधाई ज्ञापन गरे ।

‘एक र तीन नम्बर प्रदेश (बागमती) मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ। तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस्’, नेपालले भने।

अध्यक्ष नेपालले एमालेबाट आफूहरु चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाइप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसद्‌मा नारा लगाउनुपर्‍यो भन्ने प्रश्न गरे।

‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरु गए, हाइसञ्चो भयो। यो साँच्चै हो भने त त्यो संसद्‌मा नारा किन लगाउनुपर्‍यो ? कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसदमा ?’, नेपालले भने।

उनले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्‌मा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरु अरुको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसद्‌मा उफ्रिएको नेपालले टिप्पणी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय