काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आज (बिहीबार) आफ्नो भावी योजना सार्वजनिक गर्दै छ ।
पत्रकार सम्मेलन गरेर नयाँ पार्टीले योजना सार्वजनिक गर्न लागेको हो । साथै नयाँ पार्टीको काम कारबाही अघि बढाउन ५ सदस्यीय स्थायी कमिटी बनाइएको छ ।स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने र प्रवेश हमाल रहेका छन् । अन्य संरचना नबनेसम्म यही कमिटीले काम गर्ने भुसालले जानकारी दिए ।
‘आज हाम्रो पार्टीको योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दैछौं । अन्य गतिविधि सञ्चालन गर्न ५ सदस्यीय स्थायी कमिटी बनेको छ’, भुसालले भने ।
पत्रकार सम्मेलनपछि बैठक बसेर सरकारमा जाने विषयको निर्णय गर्ने सम्भावना छ ।नेकपा एकीकृत समाजवादी पार्टीबारे टुंगो नलाग्दा नयाँ सरकार गठनको झण्डै डेढ महिना बित्न लाग्दासमेत मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।
बुधबार निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीलाई प्रक्रिया पूरा गरि दलको मान्यतासहित प्रमाणपत्र दिएको छ ।
अब भने तत्काल नै मन्त्रिपरिषदे पूर्णता पाउने सम्भावना देखिएको छ । यद्यपि अर्को सत्तासाझेदार दल जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन केही समय लाग्ने बताएको छ ।