काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी बाँकी विवाद आजै टुंगो लगाएर प्रतिवेदन बुझाइने भएको छ ।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले सबै विवादहरु समाधान गरी साँझ ५ बजेभित्रमा प्रतिवेदन बुझाउने जनाएको छ ।समितिले अधिकांश विवादबारे सहमति जुटाएपनि बारा, सप्तरी र रौतहटका विषयमा सहमति बनिसकेको छैन ।
ती जिल्लामा पुरानै सदस्यताबाट अधिवेशन गराउने वा प्रक्रिया पुगेबाहेकका सदस्यतालाई मात्रै स्थगन गर्ने भन्नेमा सहमति जुटेको छैन । समितिका सदस्यहरु अहिले आन्तरिक छलफलमा छन् ।
अपराह्न १ बजेपछि बालुवाटारमा समितिको बैठक बस्नेछ । सोही बैठकबाट अन्तिम टुंगो लगाएर ५ बजे प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने बताइएको छ ।
यता प्रतिवेदन आज बुझाइने भएपछि रामचन्द्र पौडले पक्षको बैठक बसिरहेको छ ।
सोमबार विहान पौने ९ बजेबाट बत्तीसपुतलीस्थित अनुपम फुडल्याडमा पौडेल पक्षीय शीर्ष नेताबीच छलफल भइरहेको छ ।
१४ औं महाधिवेशनको तयारी र क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्न नेताहरु बैठकमा बसेको स्रोतले जानकारी दियो ।
आइतबार नै विवाद टुङ्ग्याएर सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भनिएको थियो । तर विवाद समाधानको जिम्मेवारी पाएका नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकले व्यवहारिक पक्ष मिलाउन सकेनन् ।
जसको कारण आज प्रतिवेदन बुझाउने तयारी भइरहेको छ ।