नेपाली राजनीतिमा खैलाबैलाः प्रचण्ड, माधव र उपेन्द्रले गरे ऐतिहासिक सहमति

काठमाडौं । सत्तारूढ गठबन्धनमा रहेकामध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र माधवकुमार नेपाल नेतृत्वको एमालेको एउटा समूहबीच एकीकरण गर्ने भित्री सहमति भएको छ ।

समाजवादी केन्द्र बनाएर वृहत वामएकता गर्ने दिशातिर तीनवटै शीर्ष नेताबीच छलफल भइरहेको स्रोतले दाबी गरेको छ । ‘कम्युनिस्टको नाम बेचेर गैरकम्युनिस्ट गतिविधि गर्ने केपी शर्मा ओलीलाई राष्ट्रिय राजनीतिको पर्दाबाट हटाउन जरूरी भइसकेको छ,’ प्रचण्डनिकट एक नेताले भने, ‘त्यसका लागि प्रगतिशील वामपन्थी शक्तिहरू एक भएर अघि बढ्ने सहमति बनेको छ ।

आगामी चुनावमा गठबन्धन र त्यसपछि वृहत रूपमा हामीहरू एक भएर लाग्छौं ।’त्यसका लागि प्रचण्ड, नेपाल र यादवबीच भेटघाट तीव्र भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई छोडेर एकलौटी ढंगले अघि बढेका कारण पनि तीन दलबीच वृहत एकताको सम्भावना देखिएको छ ।

केही दिनअघि नेपालनिवास कोटेश्वरमा यादव, प्रचण्ड र नेपालबीच गोप्य छलफल भएको थियो ।

छलफलमा वृहत समाजवादी केन्द्रको प्रस्ताव प्रचण्डले राखेका थिए । ‘माधव कमरेड एमालेमै अपमान सहेर बस्न सकिने स्थिति रहेन । वृहत समाजवादी केन्द्रका लागि हामी तयार हुनुपर्यो । उपेन्द्रजी पनि मधेशकेन्द्रित राजनीतिबाट मात्र प्रधानमन्त्री बन्न सक्नुहुन्न,’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

वृहत समाजवादी एकता भए आफूले नेतृत्वमा दाबी नगर्ने प्रचण्डको दाबी रहेको थियो । ‘मेरै नेतृत्वमा लोकतान्त्रिक गणतन्त्र, संघीयता र समावेशिता लागू भएको छ,’ प्रचण्डले भनेका थिए, ‘अब मलाई पार्टीको र सरकारको नेतृत्वको कुनै लोभ छैन ।

एकपटक माधवजीले नेतृत्व गर्नुस्, अर्कोपटक उपेन्द्रजीले गर्नुहोस् । तर अहिलेसम्मका उपलब्धीलाई जोगाएर थप अगाडी बढ्न हामी एक हुनुको विकल्प छैन ।’

प्रचण्डको यस्तो प्रस्तावप्रति नेता नेपालले सकारात्मक प्रतिक्रिया दिएका थिए भने यादवले त्यसका लागि थप छलफल र गृहकार्य आवश्यक रहेको प्रतिक्रिया दिएका थिए । ‘तपाईंहरूले सोचेको जस्तो मधेशको राजनीति छैन,’ यादवको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘मैले पनि निकै पछि बुझ्न थालेको हो, मधेशमा वर्गको राजनीति होइन अरू नै राजनीति चल्ने रहेछ ।

हामी जहाँ छौं, हाम्रो उद्गम एउटै हो, गन्तव्य पनि एउटै बनाऔं । म सकारात्मक छु, तर भनेर मात्र भएन, थप छलफल र स्पष्टताका अघि बढ्नुपर्छ ।’

नेपालमा जतिसुकै धेरै दल भएपनि प्रतिस्पर्धा मुख्यरूपमा समाजवाद र पूँजीवादबीच हुनुपर्नेमा सबैको एकमत थियो । तीन जना नेताको मुख्य निष्कर्ष ओली प्रवृत्तिलाई पराजित गरेर कांग्रेससँगको संघर्षमार्फत सत्ता हात पारेर समाजवादतर्फ जाने रहेको स्रोतको दाबी छ ।

तीन नेताबीच आगामी चुनावमा गठबन्धन गरेर जाने र त्यसपछि एकता गरेर जाने मोटामोटी सहमति भएको छ । त्यसका लागि चीनलगायत अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिने विषयमा पनि छलफल शुरू भएको छ ।

२०५२ सालदेखि नेपालको राजनीतिको केन्द्रमा रहेका प्रचण्ड फेरि पनि केन्द्रमै रहने हिसाबले वृहत समाजवादी केन्द्रको निर्माणमा अघि बढेका हुन् । उनले जनयुद्धताका उठाएका संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको मुद्दा देशमा स्थापित भइसकेको छ ।

तर पटक-पटक फूटको समस्या बेहोरेको माओवादीलाई चुनावी मैदानबाट ठूलो शक्ति बनाउन नसकिएको प्रचण्डले रियलाइज गरिसकेका छन् । २०६४ सालको निर्वाचनमा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित भएको थियो, त्यसपछिका चुनावमा माओवादीको साइज र शक्ति खुम्चिरहेको छ ।

यही योजनाअन्तर्गत प्रचण्डले एमालेसँग माओवादीको एकता गरेका थिए । तर ओलीको स्वेच्छाचारी प्रवृत्तिका कारण एकता कायम रहिरहन सकेन । आफ्नो मन र विचार मिल्नेहरूलाई एकजुट गराएर अघि बढ्ने प्रचण्ड रणनीति अझै पनि कार्यान्वयनको चरणमा रहेको छ ।

नेकपामा रहँदा नेता नेपालसँग मिलेर ओली प्रवृत्तिविरुद्ध नेता नेपालको साथ लिएर प्रचण्ड लडेका थिए । उनी त्यतिबेलाको नेता नेपालसँगको गठबन्धन टुट्न नहुने पक्षमा देखिएका छन् । उपेन्द्र यादव भने प्रचण्डकै कार्यकर्ता हुन् । यादव मधेश आन्दोलनबाट उदाएका नेता हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय