मुख्यमन्त्री पोखरेललाई सरकारबाट लखेट्न माओवादीको भयंकर ‘प्लान’

काठमाडौं – लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई सरकारबाट लखेट्न अन्तिम तयारी भइरहेको छ ।

पोखरेलविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावको तयारी र सरकारमा सहभागिताको भागबण्डा मिलाउन लुम्बिनी प्रदेशका विपक्ष दलका नेता र सांसदहरू कपिलवस्तुको राजापानी रिसोर्टमा भेला भएका छन् ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सम्मिलित गठबन्धनले अविश्वासको प्रस्तावका पक्षमा रहेका ४१ जना सांसदलाई रिसोर्टमै राखेर भेला गर्दैछ ।

मुख्यमन्त्री पोखरेलले सांसदको अपहरण समेत गर्नसक्ने आशंका विपक्षी गठबन्धनलाई छ । यसअघि माओवादी सांसद विमला खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप छ ।

सांसदको अपहरण र खरिदबिक्री हुने डरले गठबन्धनले सबै सांसदलाई एकैठाउँमा राख्ने भएको छ ।

विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वास प्रस्तावमाथि साउन २७ गते बुधबार छलफल हुने भएकाले सांसदलाई प्रलोभनमा पार्ने डरले सांसदलाई रिसोर्टमा लगिएको जनाइएको छ । मुख्यमन्त्री पोखरेल भने २ सांसदलाई आफ्नो पक्षमा तान्ने तयारी गरिरहेका छन् ।

राजापानी रिसोर्ट माओवादी नेता नारायण महतको हो । उनी विभिन्न पार्टी परित्याग गर्दै हाल माओवादी केन्द्रमा रहेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित राजापानी रिसोर्टमा गठबन्धनका नेताहरूसहित सांसदहरू भेला भएका छन् ।

गठबन्धनले पोखरेललाई हटाएर माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ ।- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर