राष्ट्रपति भण्डारी र नेकपा एमालेका नेता भीम रावलबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका नेता भीम रावलबीच भेटवार्ता भएको छ।

पछिल्लो समय माधव नेपाललाई छोडेर ओली क्याम्पमा गएको भनिएका नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेता रावल राष्ट्रपति भण्डारीलाई भेट्न शनिवार शीतलनिवास पुगेका थिए । उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको थियो। पार्टी एकताको लागि माधव समुहले ओली समुहलाई दुई दिनको अल्टिमेटम दिएपछि राष्ट्रपति भण्डारी सक्रिय बनेको चर्चाबीच उनीहरूबीच भेटवार्ता बहेको हो ।

राष्ट्रपति भण्डारी यसअघि पनि पटकपटक पार्टीको विवाद मिलाउन सक्रिय बन्दै आएकी छन् । शनिबार साँझ करिव ५ बजे शीतलनिवास पुगेका रावल करिव बजे ८ बजे बाहिरिएका थिए । लगभग ३ घण्टा राष्ट्रपति निवासमा बिताएका रावलले यसबारे खुलाउन चाहेका छैनन् ।

स्रोतका अनुसार माधव नेपाल समुहलाई सरकारमा जानबाट रोक्न र पार्टीको विवाद मिलाएर अगाडी बढ्न राष्ट्रपतिले आग्रह गरेकी छन् । छलफलमा राष्ट्रपतिले एमाले माधव समुहको पछिल्लो केन्द्रीय कमिटि बैठकबारे जानकारी लिएको स्रोतको दाबी छ ।

रावल पछिल्लो समय एमालेको माधव समूहबाट टाढिएर अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएको चर्चा राजनीतिक वृत्तमा रहेका बेला राष्ट्रपति भण्डारीसँग उनको भेटवार्ता भएको हो।

एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच लामो समयदेखि विभिन्न विषयमा विवाद छ। नेता नेपालका तर्फबाट कार्यदलको नेतृत्व रावलले नै गरेका थिए। १० बुँदे सहमति भए पनि नेता नेपालले उक्त सहमति मानिरहेका छैनन्।

एमालेभित्र देखिएको आन्तरिक विवाद मिलाउन दुबैतर्फका नेताहरूले पहल गरिरहेका बेला राष्ट्रपति र रावलबीच भेटवार्ता भएको छ।

पार्टीलाई एकताबद्ध बनाउनको निम्ती विशेष पहल गर्न राष्ट्रपतिले आग्रह गरेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय