नारायण रिजाल बाग्लुङ । बाग्लुङ जिल्लामा एक साताको अवधिमा कालीगण्डकी नदीमा डुबेर तीनजना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार गत बिहीबार बाग्लुङ नगरपालिका– १ निरयघाटमा पौडी खेल्न गएका दुई युवा बेपत्ता भएका थिए । बेपत्ता हुने बाग्लुङ नगरपालिका– ४ का १३ वर्षीय अभिषेक विक र सोही ठाउँका १३ वर्षीय यमबहादुर पुन रहेका छन् ।
चारजना साथीहरू मिलेर पौडी खेल्न गएकामध्ये दुईजनालाई कालीगण्डकीले बगाएको थियो । उनीहरूको खोजीकार्य जारी रहेको छ ।
प्रहरीले टोली परिचालन गरेर उनीहरूको खोजी कार्य जारी राखेको छ । खोजी कार्यमा लागि विपत् व्यवस्थापन गुल्मका ७ प्रहरी, जिल्ला प्रहरी कार्यालयका सात सुरक्षाकर्मी गरी १४ जनासहित बेपत्ता किशोरहरूका आफन्तले खोजीकार्य गरिरहेका छन् ।
अन्य जिल्लाबाट पनि प्रहरीले खोजीकार्य गरिरहेको छ । बर्खामा समयमा कालीगण्डकीको बहाव बढेकाले खोजीकार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।
सोमबार पनि मानसिक सन्तुलन गुमाएकी एक महिला निरयघाटबाटै कालीगण्डकीमा हाम फालेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी इकवाल हवारीका अनुसार सोमबार बाग्लुङ नगरपालिका– ९ तित्याङकी ५० वर्षीया टीका थापा बेपत्ता भएकी हुन् ।
महिलाले मानसिक रोगको औषधि सेवन गर्ने गरेको बुझ्नमा आएको प्रहरीले जनाएको छ । उनले लगाउने गरेको चप्पल नदी किनारामा भेटिएको छ । परिवारिक स्राेतले उनी हाम फालेको बताएको पनि प्रहरीले जानकारी दिएको छ ।
मंगलबार जिल्लाको काठेखोला गाउँपालिका– ७ रेशमा पौडी खेल्ने क्रममा २० वर्षीया युवतीका ज्यान गएको छ ।
घरनजिकैको खोलामा पौडी खेल्दा डुबेर स्थानीय मनकुमारी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
पौडी खेल्दा डुबेको थाहा पाएलगत्तै स्थानीयले खोज्दा खोलामा डुबेको अवस्थामा फेला परेका थिए । मृतक स्थानीय भीमसेन माविमा कक्षा १२ मा अध्ययनरत छात्रा हुन् ।- रेडियो सारथीबाट