कक्षा १२ को परिक्षा अजै पनि अन्योलमा, आन्तरिक मूल्याङ्कनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार

काठमाडौं । स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्याङ्कनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ ।

प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा स्वास्थ्य राज्यमन्त्रीले नै आन्तरिक मूल्याङ्कनबाट परीक्षा लिन पत्राचार गर्ने बताएपछि शिक्षा मन्त्रालय अनिर्णयको बन्दी बनेको छ । राज्यमन्त्री श्रेष्ठले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोभिड संक्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को मात्र नभई विश्वविद्यालयले सञ्चालन गर्ने सबै परीक्षा स्थगित हुन सक्ने बताएका थिए ।

राज्यमन्त्री श्रेष्ठको भनाइपछि परीक्षाको तयारीमा जुटेको राष्ट्रिय परीक्षा बोर्डलाई परीक्षा तयारी गर्ने वा नगर्ने भन्ने विषयमा समस्या परेको छ ।

परीक्षाको कार्यक्रम स्थगित गर्ने कि नगर्ने भन्ने विषयमा कुनै जानकारी नआएको बताउँदै बोर्डका सदस्यसचिव दुर्गा अर्यालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वाथ्य मापदण्ड पालना गरी होम सेन्टरमै परीक्षा लिने व्यवस्था गरिएको जानकारी दिए ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोभिड संक्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को परीक्षाको विषयमा छलफलको तयारी भइरहेको बताए। उनले भने, ‘तोकिएको परीक्षा स्थगित गर्ने विषयमा मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने भएकाले परीक्षा लिने वा नलिने भन्ने विषय मन्त्रालयले निर्णय गर्न सक्दैन ।’

सीसीएमसीको निर्देशनअनुसार होम सेन्टर कायम गरी परीक्षा लिने तयारी भइरहेको बताउँदै सचिव थपलियाले भन्नुभयो– ‘तत्काल परीक्षा स्थगित गर्ने वा अर्को विधिबाट सञ्चालन गर्ने भन्ने विषयमा कुनै जानकारी आएको छैन । विद्यार्थीहरूले भ्रममा नपरी तयारी गर्नुहोस् ।’

राज्यमन्त्री श्रेष्ठले सरकारले परीक्षा अगावै सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिरहेको जानकारी पनि गराएका थिए ।

पछिल्लो समय दैनिक तीन हजार हाराहारीको कोभिड संक्रमित फेला पर्न थालेपछि परीक्षालगायत अन्य गतिविधि गर्न दिने वा नदिने भन्ने विषयमा सरकारले निर्णय गर्न सकेको छैन ।

तर, राज्यमन्त्री श्रेष्ठले परीक्षा स्थगित हुन सक्ने सम्भावनाको संकेत दिएपछि मन्त्रालय र बोर्ड अन्योलमा परेको छ ।

परीक्षा यही साउन ३१ देखि भदौ ९ सम्म हुँदै छ । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय