थप मन्त्रीहरु नियुक्ति गर्ने देउवा–प्रचण्डको तयारी

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा थप मन्त्री नियुक्तिको तयारी सुरु भएको छ ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता सत्तारुढ पक्ष अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अगाडि बढेको छ । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको जनाइएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री र प्रचण्डबीच सरकारका साझा कार्यक्रम सार्वजनिक गर्ने, सरकार सञ्चालन सम्बन्धी कार्यदल गठनबारे समेत छलफल भएको छ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षलाई सहभागी गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधुप सुरु गरेका छन् ।

अध्यक्ष प्रचण्डले मंगलबार बिहान नेता नेपाललाई भेटेर सत्ता गठबन्धनलाई सघाएर सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

मंगलबार बिहान नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले एमालेभित्र भइरहेको एकता प्रयासबारे चासो राखेका थिए । नेता नेपालले पार्टी एकताको प्रयास जारी रहे पनि केपी ओलीको नियत ठीक नभएको बताएको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष प्रचण्डले अब मन्त्रिपरिषद् विस्तार लामो समय रोकेर राख्न नमिल्ने भन्दै एमाले भित्रको अवस्था टुंगो लगाएर सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

नेता नेपाललाई भेटेलगत्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेता नेपाल पक्ष ओलीसँग मिल्न जानसक्ने चिन्ताका साथ प्रचण्डले नेता नेपाललाई कोटेश्वरमै पुगेर भेट्ने गरेका छन् । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय