सत्ताको खेलमा सांसद नै सम्पर्कविहीन !

काठमाडौं – सत्ता र सरकार फेरबदलको खेल हुनसक्ने सम्भावनाबीच लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगा सम्पर्कविहीन भएकी छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षीय सांसद ढेंगा सम्पर्कविहीन भएकी हुन् ।जसपाले सांसद ढेंगा आईतवार बिहान ११ बजेदेखि बेपत्ता भएका उजुरी ईलाका प्रहरी कार्यालय बुटवलमा दिएको छ । जसपाले सत्तापक्ष तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पक्षले सम्पर्कविहीन बनाएको आरोप लगाएको छ ।

जसपा प्रदेश अध्यक्ष अशोक यादवले आईतवार बिहानदेखि सांसद ढेंगा सम्पर्कविहीन भएकी जानकारी दिए ।

‘फोन गर्दा घण्टी जान्छ फोन उठ्दैन । घरमा जाँदा घरमा छोराले आमाको फोन उठ्दैन, बुवाको मोबाइल अफ छ भन्छन् । प्रदेशमा सरकार बनाउने गरे गिराउने खेल चलिरहेको छ । सत्तापक्ष उहाँलाई सम्पर्कविहीन बनाउने खेलमा त, लागेन भन्ने हामीलाई आशंका हो,’ यादवले भने ।

पाल्पाकी सांसद ढेंगा जसपाकी समानुपातिक सांसद रहेकी छन् । प्रदेश सभामा ६ जना सांसद रहेको जसपामा यसअघि महन्त ठाकुर पक्षका ४ जना मन्त्री समेत बनेका थिए ।

तर भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्रीबाट राजीनामा दिएर यादव पक्षमा लागेकी थिइन् ।

एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले जसपाले झूटा आरोप लगाएको बताएका छन् । ‘उहाँहरूले हामीलाई सांसदलाई सम्पर्कविहीन बनाएको भन्ने आरोप खेदजनक र आपत्तिजनक छ,’ उनले भने ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले सांसद ढेंगा सम्पर्कविहीन भएको सूचना पाएपछि खोजी जारी रहेको जानकारी दिए ।- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय