प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न कसले रोक्यो ?

काठमाडौं – शनिबार राजधानीमा आयोजित एक कार्यक्रम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने – ‘म केही दिनदेखि निकै तनावमा छु ।

हाम्रो पार्टीका ४९ जना सांसदलाई मन्त्री बन्नु परेको छ । मुखले ठूल्ठूला आदर्शका कुरा गर्ने गरे पनि मन्त्री बन्न मलाई निकै दबाब आएको छ ।’ प्रचण्डको यो अभिव्यक्तिले जनाउँछ प्रधानमन्त्री शेरबहादुर देउवाले किन अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेनन् भन्ने ।

देउवा प्रधानमन्त्री नियुक्त भएको १३ दिन बितिसकेको छ । तर, अहिलेसम्म पाँच सदस्यीय मन्त्रिपरिषद्ले देश चलाउँदै आएको छ ।

कोरोना महामारीका बेला महत्वपूर्ण स्वास्थ्य मन्त्रालय र खोप खरिदमा विदेशमा लबिङ गर्ने परराष्ट्र मन्त्रालय दुवै खाली छन् । जसकारण देउवा आलोचित बन्न थालिसकेका छन् ।

एकातिर सत्ता गठबन्धन दल माओवादीमा सबै सांसद मन्त्री बन्न खोज्नु, जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षको किचलो कायमै हुनु, कांग्रेसमै पनि मन्त्री बन्न हानाथाप गर्ने बढी भएकाले देउवा सरकारले राम्रो काम गर्न सकेको छैन । यही कमजोरीलाई लिएर बालकोट पुगेका एमाले अध्यक्ष केपी ओलीले चलखेल गर्न थालिसकेका छन् ।

एमालेको माधवकुमार नेपाल समूह देउवा सरकारमा सामेल हुने कि नहुने भन्ने अझै स्पष्ट छैन । सोही कारण पनि सरकारले पूर्णता नपाएको हो । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सकेसम्म सरकारमा सामेल हुने सबै पार्टीलाई समेटेर एकैचोटि विस्तार गरौं भन्ने मनसाय देखिएको छ ।

जसपा विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतमा पुगेकाले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । महन्थ ठाकुर अझै पनि बालकोटको रिमोट कन्ट्रोलबाट सञ्चालित भएको उपेन्द्र यादव पक्षको आरोप छ ।

यता कांग्रेसमा भने ठेकेदार र व्यापारीहरू मन्त्री बन्न निकै सल्बलाइरहेका छन् । बालुवाटारमा अहिले सैद्धान्तिक निष्ठावान भएका नेताभन्दा पनि व्यापारी र ठेकेदार नेताहरूको आउजाउ बाक्लो भएको देखिएको छ । त्यसैले पनि प्रधानमन्त्री देउवालाई मन्त्री छान्न सकस भइरहेको छ ।

रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला समूहलाई मन्त्रीको भागबन्डाले गर्दा देउवाले सहजै काम गर्न पाउलान् भन्ने कसैले विश्वास गरेका छैनन् ।- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय