अदालतको फैसला नमान्ने भन्दै गुल्मीमा पनि ओलीनिकटको युवा संघद्वारा प्रदर्शन

गुल्मी । अदालतको फैसला नमान्ने भन्दै गुल्मीमा पनि ओलीनिकटको युवा संघले प्रदर्शन गरेको छ ।

सोमबार साँझ सदरमुकाम तम्घासमा राँके जुलुस सहितको प्रदर्शन गरिएको हो । जेठ ७ गते मध्यरात प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको थियो ।

उक्त निर्णय विरुद्ध सर्वाेच्च अदालतमा परेका ३० रिटहरुमाथि सुनुवाई गर्दै अदालतले संसद पुनःस्थापना हुने आदेश दिएको छ ।

राष्ट्रपतिले गरेको संसद विघटन दोस्रो पटक पनि असंवैधानिक ठहर गर्दै संवैधानिक इजलासले प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गर्न समेत परमादेश दिएको छ ।

यस्तै धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन गर्दा दलको ह्वीप नलाग्ने र यसलाई निर्दलीयता पनि भन्न नसकिने सर्वाेच्चको ठहर छ । साथै साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन समेत आदेश दिइएको छ ।

उक्त फैसलाको विरुद्धमा युवा संघले देशका विभिन्न जिल्लाहरुमा प्रदर्शन गरेको छ । युवा संघका पूर्वअध्यक्ष तथा नेकपा एमाले नेता महेश बस्नेतकै अगुवाईमा काठमाडौँमा समेत प्रदर्शन गरिएको थियो । निर्देशन अनुसार गुल्मीमा पनि प्रदर्शन गरिएको एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय